जेनेभा। महँगो र आकर्षक विलासी घडीको बजार फेरि चलायमान हुने संकेत देखिए पनि पर्सियन गल्फ क्षेत्रमा बढ्दो युद्धले यसको भविष्य अनिश्चित बनाएको छ।
मंगलबारदेखि वाच एण्ड वन्डर्स नामक वार्षिक प्रदर्शनी जेनेभामा सुरु भएको छ। दुई वर्षदेखि बजार खुम्चिएपछि पुनः उकालो लाग्ने आशामा रहेको घडी उद्योगका लागि यो महत्त्वपूर्ण अवसर मानिएको छ, विशेषगरी तेलसम्पन्न खाडी देशहरूमा बिक्री बढ्ने अपेक्षा गरिएको छ।
यो विश्वकै सबैभन्दा ठूलो र प्रतिष्ठित घडी प्रदर्शनी हो। जसलाई लक्जरी घडी उद्योगको फेशन वीक पनि भनिन्छ। यहाँ विश्वका शीर्ष ब्रान्डहरूले आफ्ना नयाँ मोडल सार्वजनिक गर्छन्। केवल प्रदर्शनी होइन, यो विश्व लक्जरी घडी उद्योगको शक्ति प्रदर्शन र भविष्य निर्धारण गर्ने केन्द्र हो।
तर फेब्रुअरी २८ देखि सुरु भएको इरान द्वन्द्वले विश्व अर्थतन्त्रमा व्यापक असर पारेको छ। यसले ऊर्जा मूल्य बढाएको, मल ढुवानी अवरुद्ध गरेको र हवाई यात्रा प्रभावित बनाएको छ। यसको असर उच्चस्तरीय घडी उद्योगमा पनि परेको छ।
सुन र चाँदीजस्ता बहुमूल्य धातुको मूल्य बढ्नुका साथै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लागू गरेको भन्सार शुल्कले पनि बजारमा असर पारिरहेको छ। अहिले बढ्दो मुद्रास्फीति र उपभोक्ताको खर्च गर्ने आत्मविश्वास घट्दा उद्योग थप दबाबमा परेको छ।

स्वीस घडी उत्पादक कम्पनीहरुको संगठन फेडेरेसन अफ द स्वीस वाच इन्डस्ट्रीका प्रमुख अर्थशास्त्री फिलिप पेगोरारोका अनुसार मार्च महिनाको निर्यात तथ्यांक आउन बाँकी छ, तर माग घट्नु र ढुवानी समस्या कारण निर्यातमा ठूलो गिरावट आउने संकेत देखिएको उनले बताएका छन्।
संयुक्त अरब इमिरेट्सका स्थानीय ग्राहकको खरिद भने स्थिर देखिए पनि दुबई विमानस्थलजस्ता स्थानमा पर्यटक घट्दा बिक्रीमा असर परेको छ। ‘विश्वास पुनः स्थापित हुन समय लाग्नेछ,’ उनले भने।
यसैबीच, विश्वका करिब ६५ ब्रान्ड सहभागी हुने उक्त प्रदर्शनीमा करिब ६० हजार आगन्तुक आउने अपेक्षा गरिएको छ। रोलेक्स, कार्टियर, पाटेक फिलिप र ओमेगा जस्ता ठूला ब्रान्डहरूले बजारको आधाभन्दा बढी हिस्सा ओगटेका छन्।
मोर्गन स्टेनलीको प्रतिवेदनअनुसार, गत वर्ष स्विस घडी निर्यात मूल्यमा १.७ प्रतिशतले घटेको थियो। यद्यपि, ५० हजार फ्र्याङ्कभन्दा महँगा हस्तनिर्मित घडीहरूको हिस्सा भने बढ्दो क्रममा छ।
विश्व विलासी घडी बजारमा स्वीस घडीहरूको प्रभुत्व अझै कायम छ, जसले करिब ९६ प्रतिशत बजार ओगटेको छ। जापानको ग्रान्ड साइको र भारतको टाइटन जस्ता कम्पनीहरू भने विकल्पका रूपमा अघि बढिरहेका छन्। यसबीच, अमेरिका र स्विट्जरल्यान्डबीचको व्यापार सम्बन्ध पनि उतारचढावपूर्ण रह्यो। ट्रम्प प्रशासनले एक समय ३९ प्रतिशतसम्म भन्सार शुल्क लगाए पनि पछि सम्झौतामार्फत त्यसलाई घटाइएको थियो।
समग्रमा, युद्ध, महँगी र अनिश्चितताबीच विलासी घडी उद्योग पुनः उकासिने प्रयासमा रहे पनि तत्काल सुधारको स्पष्ट संकेत भने देखिएको छैन। (एपी)









