काठमाडौ। बुक बिल्डिङ विधिमार्फत आइपीओ निष्कासन गर्न चाहने कम्पनीको संख्या बढेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आधा दर्जन कम्पनीले बुक बिल्डिङ विधिमार्फत आइपीओ बिक्रीको प्रक्रिया अघि बढाएका छन्।
जगदम्बा स्पिनिङ मिल्स र नर्भिक हस्पिटलले बुक बिल्डिङ विधिमार्फत सेयर निष्कासनको प्रक्रिया अगाडि बढाएका छन्। त्यस्तै, उत्पादन तथा प्रशोधन क्षेत्रका केही कम्पनी पनि बुक बिल्डिङ विधिमार्फत आइपीओ निष्कासन गर्ने तयारीमा लागेका छन्।
‘बुक बिल्डिङमार्फत सेयर निष्कासन गर्न एक दुई कम्पनीले नेप्सेसँग सम्झौता नै गरिसकेका छन्। फर्मास्युटिकल्ससहित उत्पादनमूलक क्षेत्रका केही कम्पनीले पनि प्रक्रिया अगाडि बढाएका छन्। उनीहरुले सम्झौताका लागि कागजात पेस गरेका छन,’ नेप्सेका एक अधिकृतले भने।
बुक बिल्डिङ विधिबाट आइपीओ निष्कासन गर्न चाहने कम्पनीले बिक्री प्रबन्धक नियुक्त गरेर स्वचालित विद्युतीय प्रणालीमार्फत् बुक विल्डिङ सम्बन्धी कार्य सञ्चालन गर्न नेप्सेसँग सम्झौता गर्नुपर्छ। त्यसपछि स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिनुपर्ने व्यवस्था धितोपत्र दर्ता तथा निष्कासन निर्देशिकामा छ।
सेबोनबाट अनुमति पाएपछि कम्पनीले बोलकबोलमार्फत संस्थागत लगानीकर्तालाई सेयर बिक्री गर्छ। कम्पनीले कुल निष्कासनको ४० प्रतिशत संस्थागत लगानीकर्ता र बाँकी ६० प्रतिशत सर्वसाधारणलाई सेयर बिक्री गर्नुपर्ने व्यवस्था छ।
बोलकबोलमार्फत तय मूल्यको १० प्रतिशत घटाएर सर्वसाधारणलाई सेयर बिक्री पर्नुपर्छ। नेपालमा पहिलो पटक सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिमार्फत आइपीओ निष्कासन गेरको थियो। त्यसपछि रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङबाट सेयर निष्कासन गरेको छ।
बुक बिल्डिङबाट सेयर बिक्री गर्न कम्पनी तीन आर्थिक वर्षदेखि लगातार खुद मुनाफामा सञ्चालन भएको हुनपर्छ। धितोपत्र दर्ता तथा निष्कासन नियमावली अनुसार प्रति सेयर नेटवर्थ प्रति सेयर चुक्ता पुँजीको कम्तिमा १५० प्रतिशत र औसतमाथि क्रेडिट रेटिङ पाएका कम्पनीले मात्रै बुक बिल्डिङ विधिमार्फत आइपीओ निष्कासन गर्न पाउँछन्।









