बालाजुमा बाइसधारा मेला सुरु, युवा सहभागितासँगै बेग्लै छ उल्लास (तस्बिरहरु)



बिजमाण्डू
२०८२ चैत्र १९ गते ०९:३५ | Apr 2, 2026
बालाजुमा बाइसधारा मेला सुरु, युवा सहभागितासँगै बेग्लै छ उल्लास (तस्बिरहरु)


काठमाडौंको बालाजुमा प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन लाग्ने ‘बालाजु बाइसधारा’ (ल्हुति पुन्हि) मेला बिहीबार सुरु भएको छ। मेलाको प्रारम्भमा परम्परागत बाजासहित झाँकी प्रदर्शन गरिएको छ। मेला भर्न उल्लेख्य संख्यामा श्रद्धालु भेला भएका छन्।

Tata
GBIME

बाइसधारामा स्नान गरे मुक्तिनाथ र गोसाइँकुण्डमा स्नान गरेको पुण्य प्राप्त हुने जनविश्वास छ। भक्तजनलाई स्नान गर्न सहज होस् भन्ने उद्देश्यले बालाजुका २२ वटै धाराबाट जल प्रवाहको व्यवस्था मिलाइएको बालाजु बाइसधारा उद्यानका प्रमुख रवीन मानन्धरले बताए।

बौद्ध र हिन्दू धर्मावलम्बी मेला भर्न आएको उनले जानकारी दिए। नेवार समुदायले आज ‘मन्नादी’ देवीको जन्म मनाउने प्रचलन पनि छ। विशेषगरी महिलाले बाइसधारामा स्नान गरी मन्नादीको पूजाअर्चना गरेमा मनोकामना पूरा हुने जनविश्वास छ।

बालाजुमा स्नान गर्नाले छालासम्बन्धी रोग नलाग्ने स्थानीय बुढापाका विश्वास गर्छन्। बालाजुमा नेपाल संवत् ८७५ मा कान्तिपुरका राजा जयप्रकाश मल्लले २१ वटा ढुंगेधारा स्थापना गर्न लगाएको र १८५५ सालमा राजा रणबहादुर शाहले अर्को एउटा ठूलो धारा बनाएको बाइसधाराको इतिहासमा उल्लेख भएको प्रमुख मानन्धरले बताए।