वित्तीय अपराधमाथि सरकारी अनुसन्धानले सेयर बजार तरंगित, ‘फेयर कारोबार गर्नेले डराउनु पर्दैन’



सुनिल कुँवर
२०८२ चैत्र १८ गते १८:५३ | Apr 1, 2026
वित्तीय अपराधमाथि सरकारी अनुसन्धानले सेयर बजार तरंगित, ‘फेयर कारोबार गर्नेले डराउनु पर्दैन’

काठमाडौं। फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनपछि उत्साहित बनेको सेयर बजार २९६० अंकमा पुगेर फर्किएको छ।

Tata
GBIME
Nepal Life

निर्वाचनमा करिब दुई तिहाइ बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार बनाएयताको चार कारोबार दिनमध्ये तीन दिन उच्च अंकले घटेको छ।

रास्वपाले वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा चैत १३ गते सरकार गठन गरेकामा त्यसपछि नेप्से लगातार घटिरहेको छ। १५ गते ७१.०५ र १६ गते ४७.७२ अंकले ओरालो लागेको नेप्से १७ गते १९.७० अंकले बढेकामा बुधबार फेरि ७४.७३ अंकको पहिरो गएको छ।

निर्वाचनपछि २४८ अंक बढेर ८ महिनायताकै उचाइ लिएको बजारमा नयाँ सरकार बनेपछि १७४ अंक घटेको छ। सरकारले सम्पत्ति शुद्धीकरणको अनुसन्धान तीव्र बनाउँदा तथा एकपछि अर्को एक्सन लिंदाको तरंग बजारमा देखिएको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले वित्तीय अपराधमा संलग्न बिचौलिया दीपक भट्ट र उनका साझेदारहरुमाथिको अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको छ। अनुसन्धानका क्रममा भट्ट र उनको समूहले पब्लिक कम्पनीको ३ अर्ब ७३ करोड रुपैयाँ आफ्नो नाममा सेयर किन्न प्रयोग गरेको देखिएको छ।

बिचौलिया समूहले सेयरमा गरेको लगानीलाई लिएर नयाँ सरकार गठनसँगै अनुसन्धानलाई तीव्रता दिइएपछि त्यसको प्रभावस्वरुप सेयर बजार तरंगित बनेको हो।

‘सरकारले सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गरिरहेको समूहको बजारमा राम्रै दबदबा थियो। अहिले ट्रेड नै गर्न नपाएपछि त्यसको प्रभाव देखिएको हुनसक्छ,’ एक ब्रोकरले भने, ‘सरकारको एक्सनपछि केही साथीहरु डराएको पनि देखिन्छ। तर, सरकारलाई कर तिरेर फेयर रुपमा नाफा आर्जन हुने भएकाले अरुले डराउनु पर्ने अवस्था होइन।’

प्रिपेड बिचौलिया समूहको लगानी रहेको हिमालयन रि इन्स्योरेन्सको सेयर बुधबार सबैभन्दा धेरै ७१ करोड ३१ लाख रुपैयाँको किनबेच भएको छ। इन्स्योरेन्सको सेयर भाउ ५.७६ प्रतिशत घटेको छ।

भट्टले नेपाल रि इन्स्योरेन्सको सेयर खरिद गर्न हिमालयन रि इन्स्योरेन्सबाट २ अर्ब ७३ करोड, यसको सहायक कम्पनी हिमालयन सेक्युरिटिज बैंकरबाट २२ करोड १९ लाख, हिमालयन लाइफ इन्स्योरेन्सको सहायक कम्पनीबाट ३७ करोड, एचएलआइ लार्ज क्याबाट २५ करोड १४ लाख र नेपाल माइक्रो इन्स्योरेन्सबाट १६ करोड १७ लाखभन्दा बढी रकम लिएको अनुसन्धानबाट खुलेको छ।

अनुसन्धान नसकिंदै मंगलबार भट्टको पासपोर्ट रोक्का गरिएको छ। त्यसको प्रभावस्वरुप बजारमा बुधबार सबैभन्दा धेरै मूल्य घट्ने कम्पनीको शीर्ष सूचीमा नेपाल रि इन्स्योरेन्स परेको छ। नेपाल रिको सेयर मूल्य बुधबार ९.४८ प्रतिशत घटेको छ।

वित्तीय अपराध मात्रै नभएर राजनीतिक नेतृत्व पनि अनुसन्धानको राडारमा छ। बालेन प्रधानमन्त्री बनेपछि सरकारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गरेर फौजदारी कसुरमा अनुसन्धान गरिरहेको छ। ओलीका साथै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल तथा पूर्वमन्त्री आरजु राणा र दीपक खड्कामाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान अगाडि बढाइएको छ।

गैरकानुनी रुपमा सम्पत्ति आर्जन गर्नेमाथि सरकार एक्सनमा उत्रिंदा बजारमा स्रोत नखुल्ने लगानी गरेकाहरु पनि त्रसित भएकाले नेप्से ओरालो लागेको हो।

ब्रोकरका अनुसार उधारो सेयर किनबेचको प्रभाव समेत बजारमा देखिएको छ। निर्वाचनको नतिजापछि चैत ८ गते ८ महिनायताकै सर्वाधिक २३ अर्ब ५९ करोड रुपैयाँको सेयर कारोबार भयो। त्यसपछि सूचकसँगै सेयर किनबेच घटिरहेको छ।

‘सरकार गठनअघि बजार बढेर २६०० अंकबाट २८६० सम्म पुगेको थियो। त्यतिखेर बजारमा सूचकसँगै कारोबार रकम पनि बढ्यो। त्यसपछि ब्रोकर फण्डिङ टाइट हुन थाल्यो र सेलिङ प्रेसर देखिएर माग नै बढेन,’ स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका महासचिव नितेशकुमार अग्रवालले भने, ‘कारोबार र बजार बढ्दा ठिकठाक नै चलिरहेको देखिन्छ। तर, बजारमा सेलिङ प्रेसर आउन थालेपछि उधारो कारोबारको समस्या देखिन सुरु भइहाल्छ।’

बजारमा बुधबार १२ अर्ब १० करोड रुपैयाँको सेयर किनबेच भएको छ। यो साता आइतबार १५ अर्ब ३ करोड, सोमबार १२ अर्ब ९६ करोड र मंगलबार ११ अर्ब ११ करोड रुपैयाँको सेयर किनबेच भएको थियो।

बजार उकालो लाग्दा कारोबार बढ्ने गरेकामा त्यसपछि सेटलमेन्टको पेनिकका कारण खुम्चिने गरेको छ। यसअघि गत साउन र अघिल्लो वर्ष असारमा बजारको बुलिस ट्रेन्डमा उधारो कारोबारको प्रभाव पछिसम्म देखिएको थियो।

बजारमा बुलिस ट्रेन्ड देखिएपछि छोटो अवधिमा नाफा बुक गर्ने लगानीकर्ता बढ्दा कारोबार रकम बढ्ने गरेको हो। त्यसले बजारलाई दबाबमा राखेको ब्रोकरहरु बताउँछन्।

‘बजारमा फरक फरक लगानीकर्ताहरु हुन्छन्। कुनै कम्पनीको सेयर होल्ड गरेका कुनै लगानीकर्ताले बजार बढ्दा बेच्ने र फेरि घटेपछि किन्ने ट्रेन्ड समेत देखिन्छ,’ अर्का एक ब्रोकरले भने, ‘यस्तो छोटो अवधिको सेयर कारोबारमा ट्रेडर हाबी हुने र ब्रोकरबाट उधारोमा किनबेच हुँदाको प्रभाव देखिने गरेको हो। सेटलमेन्टका लागि ब्रोकरबाट उधारो कारोबारको लिमिट बन्द हुँदाको असर कारोबारमा देखिहाल्छ।’

लगानीकर्ताले २५ प्रतिशतसम्म कोल्याट्रल राखेर सेयर खरिद गर्न सक्छन्। तर, ब्रोकरहरुले कर्पोरेट क्लाइन्टलाई शून्य कोल्याट्रल (उधारो)मै कारोबार गराउँदै आएका छन्। उधारो कारोबारपछि सेटलमेन्टका लागि ब्रोकरले लिमिट नै बन्द गर्ने गरेका हुन्।

बैंकको ब्याजदर निकै तल्लो विन्दुमा आउनेदेखि बजारका लागि चाहिने सबै सूचक निकै सहज अवस्थामा रहे पनि अहिले बजार तरंगित हुनुमा उधारो कारोबार पनि एउटा कारण भएको विश्लेषकहरुको बुझाइ छ।

बजारले ५ वर्षअघि कायम गरेको कीर्तिमान ब्रेक गर्न सकेको छैन। दर्जनौं कम्पनी आइपीओ निष्कासन गरेर दोस्रो बजारमा थपिंदा सूचक र कारोबार रकम भने ३००० अंकमाथि जान सकेको छैन।

नेप्से परिसूचक यसअघि २०७८ भदौ २ गते ३१९८ अंकको उचाइमा पुगेकामा त्यसपछि लगातार ओरालो लागेर १८१५ अंकसम्ममा आइपुगेको थियो। बजार तल आइपुग्नुमा नेपाल राष्ट्र बैंकको नीतिगत कडाइ र तरलता अभाव मुख्य कारण थियो।

२०८१ असार १७ गते नेपाली कांग्रेस र नेकपा एमालले सत्ता साझेदारीपछि नेप्से सूचक डेढ महिनामै ४६ प्रतिशत बढेर साउन मसान्तमा ३००० विन्दुमा पुगेको थियो। बजारमा त्यतिखेर २९ अर्ब ९५ करोड रुपैयाँको कीर्तिमानी कारोबार भएको थियो।

सेयर बजारका लागि राष्ट्र बैंकले यसअघि लिएका नीतिगत व्यवस्था लगातार खुकुलो बनाइरहेको छ। राष्ट्र बैंकले पछिल्लो दुई वर्षदेखि सेयर धितो कर्जाको जोखिम भार र सीमालाई हटाउँदै बैंकको सेयर कारोबारलाई सहज बनाइदिएको छ।