काठमाडौं । बौद्धमा आज तेमाल जात्रा मनाइएको छ। काभ्रेको तेमाल क्षेत्रका तामाङ समुदायले आजको दिन आफ्नो परिवारको दिवंगत सदस्यहरुको चीर शान्तिको कामना गर्दै बौद्ध महाचैत्य परिक्रमा गर्ने गर्छन्।
काठमाडौं उपत्यकामा पानीको दह भएका बेला डाँडाडाँडामा रहेका बस्तीमै यस दिन दिवङ्गत पितृलाई सम्झने विधि प्रचलनमा रहे पनि तेमालका अन्तिम तामाङ राजा ह्रिन्जेन दोर्जेको कालदेखि यो पर्वलाई राष्ट्रिय मान्यता दिइ बौद्धमा आएर मेला लाग्ने परम्परा बसेको कथन छ।

प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीका दिन स्तूपमा आई दिवङ्गत पितृको सम्झनामा बत्ती बालेमा पितृले मुक्ति पाई कर्ताको जीवनमा पनि सुख, शान्ति मिल्ने धार्मिक विश्वास रहेको छ। यो विधि पूरा गरेमा दिवङ्गत पितृको दुर्गति नहुने र पुनर्जन्म सुखवती भुवनमा हुने भनी बौद्ध धर्म ग्रन्थमा व्याख्या गरिएको जानकारहरु बताउँछन्।
पितृमोक्षको कामना सहित गरिने यो जात्रापछि तेमालहरु बालाजुको बाइसधारमा पुगेर स्नान गर्ने गर्छन्। साथै, उनीरु स्वयम्भू पनि पुग्छन्।

बालाजु बाइसधारा मेला बिहीबार मनाइँदैछ।




















