काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा मार्गदर्शन संशोधन गरेको छ। राष्ट्र बैंकले शुक्रबार चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधन गरेको हो।
राष्ट्र बैंकले फागुन १२ गते चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन परिमार्जन गर्ने बताएको थियो।
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत गरिएको व्यवस्था कार्यान्वयन गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई शुक्रबार सर्कूलर जारी गरेको छ।
बैंक तथा वित्तीय संस्थाले यसअघि प्रवाह भएको पर्मानेन्ट वर्किङ क्यापिटल निडको आवधिक प्रकृतिको कर्जा ऋणीको नगद प्रवाह तथा वित्तीय विवरण विश्लेषण गरेर आवश्यकता र औचित्यको आधारमा २०८३ असार मसान्तसम्ममा एक पटकका लागि मात्र पुनर्तालिकिकरण गर्न पाउनेछन्।
‘यसअघि प्रवाह भएको प्रमानेन्ट वर्किङ क्यापिटल निडको आवधिक प्रकृतिको कर्जा ऋणीको नगद प्रवाह तथा वित्तीय विवरण विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा २०८३ असार मसान्तसम्ममा एक पटकका लागि मात्र पुनर्तालिकिकरण गर्न सकिनेछ । यसरी गरिएको कर्जा पुनर्तालिकिकरणलाई कर्जा वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्थाको प्रयोजनका लागि पुनर्तालिकिकरण भएको मानिने छैन,’ राष्ट्र बैंकले भनेको छ।
यस्तै, चालु पुँजी कर्जाका क्यास क्रेडिट कर्जा खातामा आर्थिक वर्षको कुनै एक समयमा कम्तीमा लगातार ७ दिन कर्जा सीमाको ३० प्रतिशतभन्दा कम बक्यौता कायम गर्नुपर्छ। यसअघि यस्तो सीमा १० प्रतिशत थियो।
राष्ट्र बैंकले उद्यम वा व्यवसायको प्रकृति, क्षेत्र, नगद प्रवाह तथा चालू पुँजी सम्बन्धी विश्लेषण समेतका आधारमा स्थायी चालु पुँजीको लागि प्रदान गरिने आवधिक कर्जाको अवधि निर्धारण गर्ने पद्धति एवं क्षेत्रगत रुपमा यस्तो अवधिको न्यूनतम तथा अधिकतम सीमा कायम गरेको छ।











