चाँदीको मूल्य हालसम्मकै उच्च, पुग्यो तोलाको ३८०५ रुपैयाँ, सुनमा पनि बढोत्तरी



बिजमाण्डू
२०८२ मंसिर २५ गते ११:३६ | Dec 11, 2025
चाँदीको मूल्य हालसम्मकै उच्च, पुग्यो तोलाको ३८०५ रुपैयाँ, सुनमा पनि बढोत्तरी

काठमाडौं। चाँदीको मूल्यले बढोत्तरीमा कीर्तिमान बनाएको छ। बिहीबार नेपाली बजारमा चाँदी प्रति तोला ३ हजार ८ सय ५ रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको यो मूल्य हालसम्मकै उच्च हो।

Tata
GBIME
Nepal Life

बितेका वर्ष सुनको मूल्यमा फराकिलो घटबढ भइरहँदा पनि चाँदीको मूल्यमा धेरै अन्त हुने गरेको थिएन। यसपटक सुन सँगसँगै बलियो भएको चाँदीको मूल्यले घट्ने संकेत गरेको छैन। बुधबारका तुलनामा बिहीबार चाँदी तोलामा ५५ रुपैयाँले बढेको हो।

मंगलबारका तुलनामा १५० रुपैयाँ बढ्दा बुधबार कारोबार मूल्य प्रति तोला ३ हजार ७ सय ५० रुपैयाँ भएको थियो। अन्तर्राष्ट्रिय बजारमा मागका तुलनामा आपूर्तिमा आएको कमीले चाँदीको मूल्य उच्च भएको अनुमान बजार विश्लेषकहरुको छ। चाँदी सुनजस्तो मात्रै बहुमूल्य धातु होइन, तर यो एक महत्त्वपूर्ण औद्योगिक धातु हो। बजारमा यसको कुल मागको ५० देखि ७० प्रतिशतसम्म औद्योगिक क्षेत्रबाट आउँछ।

चाँदी बिजुली र तापको उत्कृष्ट सुचालक भएकाले सौर प्यानलको निर्माणमा अत्यावश्यक हुन्छ। संसारभर नवीकरणीय ऊर्जाको बढ्दो प्रयोग र सरकारी प्रोत्साहनका कारण सौर्य ऊर्जा उद्योगबाट चाँदीको माग उच्च भएको छ। इलेक्ट्रिक सवारीसाधन (इभी)को ब्याट्री व्यवस्थापन प्रणाली, कनेक्टर, र सेन्सरहरूमा चाँदी प्रयोग हुन्छ। इभी बजारको द्रुत विस्तारले पनि माग बढाएको छ।

फाइभजी प्रविधि, एआइ र इन्टरनेट अफ थिङ्स उपकरणहरूमा प्रयोग हुने सेमिकन्डक्टर चिप्स, सर्किट बोर्ड र सेन्सरहरूमा चाँदीको प्रयोग बढ्दै गएको छ। एआई र डिजिटल पूर्वाधारको लागि निर्माण भइरहेका विशाल डाटा सेन्टरहरूलाई पनि उच्च मात्रामा चाँदी चाहिन्छ। चिकित्सा क्षेत्रमा पनि चाँदीको माग छ। चाँदीमा हुने कीटाणुनाशक गुण का कारण चिकित्सा उपकरण र घाउमा लगाउने ड्रेसिङमा समेत प्रयोग हुन्छ, जसले गर्दा माग बढेको छ।

संसारमा उत्खनन हुने चाँदीको ७० प्रतिशतभन्दा बढी तामा, सिसा, र जस्ता जस्ता अन्य धातुहरूको उत्खननको सह-उत्पादन (बाइप्रडक्ट)का रूपमा प्राप्त हुन्छ। यसको अर्थ बजारमा चाँदीको माग जतिसुकै बढे पनि यसको उत्पादनलाई तत्काल बढाउन गाह्रो हुन्छ। लगानीकर्ताको नजर पनि परेकाले मूल्य उच्च भइरहेको विश्लेषण छ।

सुनको मूल्य पनि बढेको छ। सुनको कारोबार मूल्य प्रति तोला २ लाख ५३ हजार १ सय रुपैयाँ भएको छ। महासंघका अनुसार बुधबारका तुलनामा बिहीबार तोलामा एक हजार रुपैयाँले बढेको हो। अघिल्लो दिनका तुलनामा २ सय रुपैयाँ बढ्दै बुधबार प्रति तोला २ लाख ५२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रति औंस ४२१२.३५ डलर र चाँदी प्रति औंस ६१.७८ डलरले कारोबार भइरहेको छ।