काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले एकताका लागि सभापति गगन थापासामु पाँच बुँदे प्रस्ताव गरेको छ।
देउवा समूहले आइतबार आफ्नो सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरी एकताका लागि पाँच बुँदे प्रस्ताव पठाएको जानकारी दिएको हो।
देउवा पक्षले १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यलाई महाधिवेशन कार्यसमितिमा मिलाएर लैजान प्रस्ताव गरेको छ। त्यसैगरी गगन महामन्त्री भएकै समयमा क्रियाशील सदस्यता नवीकरण गरेकाहरुलाई १५औं महाधिवेशनमा सहभागी गराउनु पर्ने पनि देउवा समूहको प्रस्ताव छ।
विशेष महाधिवेशनबाट गत पुस मसान्तमा सभापति बनेका गगनले अद्यावधिक नगरेका क्रियाशील सदस्यलाई १५औं महाधिवेशनमा सहभागी नगराउने बताउँदै आएका छन्। देउवा पक्षले भने पुसमामात्र क्रियाशील सदस्यता नवीकरण गरेको भन्दै अद्यावधिक नगर्ने अडान लिँदै आएको छ।
देउवा पक्षका ५ प्रस्ताव
१. १४औं महाधिवेशनको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई विशेष महाधिवेशनको कार्यसमितिसँगै मिलाएर गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने।
२. सभापति गगन थापाको बहुमत रहनेगरी कार्यसम्पादन समिति बनाउने।
३. पुनर्गठित केन्द्रीय कार्यसमितिको बैठकले १५औं महाधिवेशनको कार्यतालिका घोषणा गर्ने।
४. वर्तमान संस्थापन पक्षको बहुमत रहने गरी महाधिवेशनसँग सम्बन्धित विभिन्न समिति बनाउने।
५. महाधिवेशनका लागि सबैभन्दा महत्वपूर्ण आधार पार्टीको क्रियाशील सदस्यता भएकोले यसका लागि पार्टीभित्र विवाद हुनु पहिले नै वर्तमान सभापति गगन थापा (तत्कालीन महामन्त्री) संयोजक रहेको समितिले टुंग्याएका सबै क्रियाशील सदस्यलाई १५औं महाधिवेशनमा स्वत: सहभागी हुन पाउने व्यवस्था गरी उनीहरूको डिजिटल इन्ट्री गर्दै जाने। डिजिटल इन्ट्रीलाई पुन: नवीकरण भनी महाधिवेशनमा भाग लिन पाउने-नपाउने विषयसँग नजोड्ने।









