पेरिस। फ्रान्स सरकारले अरबपति एलन मस्कको एआइ च्याटबोट ग्रोकविरुद्धको कारबाही अघि बढाउने भएको छ। सरकारी अधिकारीहरुका अनुसार ग्रोकमाथि फ्रेन्च भाषामा औश्विट्ज मृत्यु शिविरमा ग्यास च्याम्बरको प्रयोगबारे प्रश्न उठाउने सामग्री उत्पादन गरेको आरोप छ।
मस्कको कम्पनी एक्सएआइले बनाएको र उनको सामाजिक सञ्जाल प्लेटफर्म एक्समा समावेश गरिएको ग्रोकले फ्रेन्च भाषामा व्यापक रूपमा सेयर भएको एक पोष्टमा औश्विट्ज–बिर्केनाउका ग्यास च्याम्बर “टाइफसविरुद्ध ‘जिक्लोन बी’ प्रयोग गरेर कीटाणुशोधनका लागि डिजाइन गरिएको” भन्ने दाबी गरेको थियो। यो अभिव्यक्ति लामै समयदेखि होलोकास्ट नकार्ने भाषासँग जोडिएको मानिन्छ।
होलोकास्ट नकार्नु भन्नाले दोस्रो विश्वयुद्धका बेला नाजी जर्मनीले लाखौं यहुदी, रोमा, पोल, अपांग, समलिंगी र अन्य समूहको योजनाबद्ध नरसंहार भएको थियो भन्ने ऐतिहासिक सत्यलाई नमान्ने वा त्यसलाई सानो देखाउने प्रयास हो।
औश्विट्ज मेमोरियलले उक्त कुराकानीलाई एक्समा सार्वजनिक गर्दै ग्रोकको जवाफले ऐतिहासिक तथ्य विकृत गरेको र प्लेटफर्मका नियम उल्लंघन गरेको बतायो।
पछि Grok ले आफ्नो X खातामा – अघिल्लो जवाफ गलत भएको स्वीकार गर्यो। उक्त पोष्ट हटाइएको बतायो र ऐतिहासिक प्रमाण देखाउँदै जीक्लोन बी प्रयोग गरी औश्विट्जमा १० लाखभन्दा बढी मानिस हत्या गरिएका तथ्य प्रस्तुत गर्यो।
तर यी पछिल्ला स्पष्टीकरणहरूसँग एक्स प्लेटफर्मले कुनै टिप्पणी जोडेन।
समाचार संस्था एपीले शुक्रबार परीक्षण गर्दा ग्रोकले औश्विट्जसम्बन्धी प्रश्नमा ऐतिहासिक रूपमा सही जानकारी दिएको देखियो। तर ग्रोक पहिले पनि यहुदीविरोधी टिप्पणी गर्ने विवादमा परेको छ। यस वर्षको सुरुमा, हिटलरको प्रशंसा गरेजस्तो देखिने ग्रोकका केही पोष्टहरू गुनासो आएपछि एक्सएआइले हटाएको थियो।
पेरिस प्रोसिक्यूटर कार्यालय ले एपीलाई शुक्रबार पुष्टि गर्दै ग्रोकका होलोकास्ट अस्वीकार गर्ने टिप्पणीहरू एक्सविरुद्ध सुरु भइसकेको साइबर–अपराध अनुसन्धानमा थपिएको जनाएको छ। यो अनुसन्धान यस वर्षको सुरुमा फ्रेन्च अधिकारीहरूले प्लेटफर्मको एल्गोरिदम विदेशी हस्तक्षेपका लागि दुरुपयोग हुनसक्ने चिन्ता उठाएपछि सुरु गरिएको थियो।
प्रोसिक्यूटरहरूका अनुसार अब ग्रोकका टिप्पणीहरू पनि सोही अनुसन्धानको हिस्सा बनेका छन्, र ‘एआइ कसरी काम गर्छ भन्ने पक्ष जाँचिनेछ।’
फ्रान्समा युरोपकै कडा होलोकास्ट–अस्वीकार सम्बन्धी कानुन छ। नाजी अपराधको वास्तविकता वा यसको नरसंहार–स्वरूप अस्वीकार गर्नु, वा जातीय घृणा उक्साउने अरू प्रकारका अभिव्यक्तिसँगै, आपराधिक कृत्य मानिन्छ। उद्योग मन्त्री रोलान लेस्कुरसहित फ्रान्सका कैयौँ मन्त्रीहरूले ग्रोकका पोष्टहरूलाई सम्भावित अपराध भनेर पेरिस प्रोसिक्यूटरकहाँ रिपोर्ट गरिसकेका छन्। सरकारी वक्तव्यमा उनीहरूले एआइ–द्वारा उत्पादित उक्त सामग्रीलाई स्पष्ट रूपमा अवैध बताउँदै जातीय घृणा उक्साउने बदनाम प्रकरण वा मानवता विरुद्धका अपराध अस्वीकार गर्ने कार्य हुनसक्ने उल्लेख गरेका छन्।
फ्रान्सेली अधिकारीहरूले पोष्टहरूलाई अनलाइन अवैध सामग्री निगरानी गर्ने राष्ट्रिय प्रहरी प्लेटफर्म मा पठाएका छन् र फ्रान्सको डिजिटल नियामक लाई पनि युरोपेली संघको डिजिटल सर्भिस कानुन उल्लंघन भएको आशंकामा जानकारी गराएका छन्।
यो मुद्दाले ब्रसेल्सबाट बढ्दो दबाबमा थपिएको छ। यसै हप्ता, युरोपेली आयोगले एक्ससँग ग्रोक सम्बन्धमा समन्वय भइरहेको बताउँदै ग्रोकका केही सामग्रीलाई कुरूप र युरोपका मौलिक अधिकार तथा मूल्यमान्यताविरुद्ध भनेको थियो।
दुई फ्रान्सेली अधिकारवादी संस्थाले ग्रोक र एक्सविरुद्ध मानवता विरुद्धका अपराध नकार्ने आरोपसहित आपराधिक उजुरी गरिसकेका छन्। एक्स र यसको एआइ इकाई एक्सएआइले यसबारे प्रतिक्रिया दिइसकेका छैनन्। (एपी)










