एनसेलका डेटा प्याक प्रयोगकर्तालाई नयाँ सुविधा, ९९ रुपैयाँको प्याकमा २ लाखको बीमा



बिजमाण्डू
२०८२ कात्तिक २० गते १२:४९ | Nov 6, 2025
एनसेलका डेटा प्याक प्रयोगकर्तालाई नयाँ सुविधा, ९९ रुपैयाँको प्याकमा २ लाखको बीमा


काठमाडौं। एनसेल र मेटलाइफको साझेदारीमा ‘डाटासँगै जीवन बीमा’नामक नवीन योजना सुरु गरिएको छ। यो सेवा लिने ग्राहकले मोबाइल डेटाका साथै जीवन तथा घातक रोगको बीमा एकैसाथ पाउने एनसेलले जनाएको छ।

Vigo
GBIME
Tata

नेपालमै पहिलोपटक सुरु भएको यो सेवा अन्तर्गत एनसेलका ग्राहकले दुई प्याकेजमध्ये कुनै एक रोजेर बीमाको फाइदा लिन सक्छन् जसमा डेटा प्रयोगसँगै बीमा सुविधा पनि प्राप्त हुन्छ ।

दुई प्याकेजमध्ये पहिलोमा करसहित ९९ रुपैयाँको प्याक छ। ३ दिन समयसीमा रहेको यो प्याकमा १०० एमबी डेटा, २ लाख रुपैयाँ बराबरको म्यादी जीवन बीमा र २ लाख रुपैयाँ बराबरको घातक रोग बीमा पाइन्छ। यो बीमा सुविधा प्याक खरिद गरेको मितिबाट ३० दिनसम्म मान्य रहने कम्पनीले जनाएको छ।

दोस्रोमा ३९ रुपैयाँको प्याक छ। यो प्याकमा ग्राहकले ३ दिनका लागि १०० एमबी डेटा, ५० हजार रुपैयाँ बराबरको म्यादी जीवन बीमा र ५० हजार रुपैयाँ बराबरको घातक रोग बीमा पाउँछन्। यो बीमा सुविधा प्याक खरिद गरिएको मितिबाट ३० दिनसम्म मान्य रहन्छ।

ग्राहकले आफ्नो एपमार्फत आफूलाई मनपर्ने प्याक छानी, बीमाका लागि एउटा फाराम भरेर सजिलै यी दुई मध्ये एक प्याक लिन सक्ने एनसेलले जनाएको छ।

एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले यो साझेदारीले एनसेल प्रयोगकर्ताका लागि बीमा पहुँच सहज बनाउने लक्ष्य राखेको बताए।

‘मेटलाइफ नेपालसँग साझेदारी गर्दै देशभरका ग्राहकका लागि बीमा सुरक्षासहितको सेवा दिन पाउँदा हामी अत्यन्तै खुशी छौं। यो सहकार्यले नेपाली समुदायको तल्लो स्तरसम्म पुगेर ठूलो समूहलाई बीमा पहुँच विस्तार गर्ने सामाजिक प्रतिबद्धता पनि बोकेको छ। आफ्ना ग्राहकका लागि भ्यालु सिर्जना गर्नु हाम्रो कार्यको केन्द्रबिन्दु हो, जसले उनीहरूको जीवनमा मुस्कान र सकारात्मकता ल्याउँछ,’ उनले भने।