काठमाडौं। जहाज मर्मत सम्भारदेखि कर्मचारी सरुवामा एकपछि अर्को विवादमा मुछिएका र व्यवस्थापकीय जिम्मेवारीमा आफैंले आफैंलाई ‘अक्षम’ सावित गरेका नेपाल वायुसेवा निगम (एनएसी)का अध्यक्ष युवराज अधिकारी कार्यकाल दोहोर्याउने दौडमा लागेका छन्।
चार वर्षको अवधिमा जहाज कमाइ हुने गन्तव्यमा नउडाएका र अस्वाभाविकरुपमा लामो समय ग्राउण्डेड गराएर एनएसीलाई थप आर्थिक संकटमा धकेलेका अधिकारी दोस्रो कार्यकालका लागि नियुक्ति लिने दौडधुपमा लागेका हुन्।
स्रोतका अनुसार अधिकारीले कार्यकाल दोहोर्याउन प्रधानमन्त्री सुशीला कार्की निकट एक व्यक्तिलाई रिझाउने प्रयास गरिरहेका छन्।
‘उहाँ चार वर्षको कार्यकालमा हरेक काममा विवादित हुनुभयो। निगमको हितका लागि उहाँले गरेको राम्रो काम एउटै छैन,’ स्रोतले भन्यो, ‘अहिले फेरि उहाँले दोहोर्याएर नियुक्ति लिनका लागि प्रधानमन्त्रीसँग नजिकका व्यक्तिलाई भेटिरहनु भएको छ। जेनजी आन्दोलनपछि बनेको सरकारले भष्टाचारविरुद्ध कारबाहीको डन्डा चलाए उहाँ उम्किन सक्ने ठाउँ नै छैन।’
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री र नेकपा एकीकृत समाजवादीका नेता प्रेमबहादुर आले पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहेका बेला २०७८ कात्तिक ८ गतेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको थियो।
मन्त्रिपरिषद्को निर्णयका आधारमा तिहार बिदासँगै अधिकारीको कार्यकाल सकिइसकेको छ। अधिकारीले भने आफूले कात्तिक १२ गते नियुक्ति लिएका कारण ११ गतेसम्म काम गर्न पाउने बताउँदै आएका छन्। उनी सोमबार एनएसी मुख्यालयमा लक्ष्मीपूजामा सहभागी भएका छन्।
जेनजी आन्दोलनपछि अधिकारीले निगमभित्रकै एक कर्मचारीलाई पर्यटनमन्त्री बनाउन लबिङ समेत गरेका थिए। अधिकारीको अनियमिततामा साथ दिँदै आएका ती कर्मचारीलाई सामाजिक सञ्जाल लगायतमा फिड गरेर पर्यटनमन्त्री बनाउन लबिङ गरिएको थियो।
स्रोतका अनुसार ती कर्मचारी पर्यटनमन्त्री बन्ने अवस्था नरहेपछि अधिकारीले प्रधानमन्त्री कार्कीसँग नजिक रहेका व्यक्तिलाई रिझाएर कार्यकाल दोहोर्याउन खोजेका हुन्।
तर, अधिकारीले एनएसीमा गरेको हर्कतका बारेमा प्रधानमन्त्री कार्की र उनको सचिवालय जानकार रहेकाले दौडधुपमा बाबजुद दोहोरिने सम्भावना नरहेको स्रोतले बतायो।
‘अरु भएको भए अधिकारीले प्रभावमा पार्न सक्थे होला। तर कार्की प्रलोभनमा पर्ने व्यक्ति होइन। उहाँको सचिवालयमा पनि अधिकारीले एनएसीमा गरेका अनियमितताबारे बुझेकै व्यक्ति छन्। त्यसैले जति दौडधुप गरे पनि अधिकारीले नियुक्ति पाउने सम्भावना देखिंदैन,’ स्रोतले भन्यो, ‘आफ्नो पक्षमा माहोल नबन्ने चाल पाएरै होला केही दिनदेखि अधिकारी स्ट्रेसमा देखिन्छन्।’
अधिकारीको ४ वर्ष एनएसीको सबैभन्दा खराब समय
चार वर्षे कार्यकाल अधिकारीले सम्झनलायक एउटै काम गरेनन्। उनी एनएसीको हितमा काम गर्नेभन्दा विभागीय मन्त्रीलाई रिझाउने र आर्थिक लाभ आर्जनमा केन्द्रित भए।
‘चार वर्षको अवधिमा अधिकारीले एनएसीको आर्थिक अवस्था सुधारमा कुनै पहल गरेनन्। बरु सरकार फिरिएपिच्छे नियुक्त हुने पर्यटनमन्त्रीलाई आर्थिक प्रलोभनमा पारेर एनएसीलाई दोहन गरे,’ एनएसीका एक उच्च कर्मचारीले भने, ‘उनले गरेका दोहनका चाङ छन्। कर्मचारीको सरुवामा त पैसा उठाए भने जहाज मर्मत र अरु आर्थिक कारोबारमा कति कुम्ल्याए होलान्?’
अधिकारीको चार वर्षे कार्यकालमा एनएसी सबैभन्दा खराब अवस्थाबाट गुज्रिएको वित्तीय विवरणबाटै देखिन्छ।
एयरबसका ब्राण्ड न्यू दुईवटा वाइडबडी र दुई वटा न्यारोबडी जहाज फुल फ्लेजमा चलाउने समयमा अधिकारीले एनएसीको नेतृत्व सम्हालेका थिए। ब्राण्ड न्यू जहाज चलाउने समय भनेको कुनै पनि वायुसेवा कम्पनीका लागि स्वर्णिम हो। तर, अधिकारीले त्यो स्वर्णिम समयलाई एनएसीको कमाइ बढाउनभन्दा आफूले आर्जन गर्न दुरुपयोग गरे।
एनएसीले नोक्सानी ब्यहोर्यो। जहाज किन्न लिएको ३४ अर्ब ऋण बढेर आधा खर्ब नाघ्यो। पर्यटन मन्त्रालयले पटक पटक गठन गरेको अध्ययन समितिले अधिकारीको व्यवस्थापकीय क्षमतामा प्रश्न उठायो। २०८१ असारमा गठन गरिएको छानविन समितिले त अधिकारीको असक्षमताका कारण ५ महिनामै एनएसीले १ अर्ब रुपैयाँ नोक्सानी बेहोरेको प्रतिवेदन बुझायो।
‘समयमा इन्जिन मर्मत नहुँदा भाडामा इन्जिन लिनुपर्ने वाध्यात्मक अवस्था तथा सम्झौता अनुसार भाडाको इन्जिन समेत समयमा उपलब्ध नगराइ लामो समयसम्म विमान भूमिस्थ रहन जाँदा निगमले एक अर्ब रुपैयाँभन्दा बढी नोक्सानी बेहोर्नुपरेेको छ,’ समितिले तत्कालीन पर्यटनमन्त्री बद्री पाण्डेलाई बुझाएको प्रतिवेदनमा भनिएको छ।
मर्मतमा खेलाँची गरेर अधिकारीले एनएसीलाई कुन हदसम्म संकटमा पारेका थिए भन्नका लागि ९ एन-एकेएक्स कलसाइनको जहाज ग्राउण्डेड भएको अवधि हेरे पुग्छ। यो जहाज १४९ दिनसम्म भूमिस्थ (ग्राउण्डेड) भएको थियो। २०८० मंसिर १५ गते ग्राउण्डेड भएको जहाज मर्मतका लागि पुस २७ गते इजरायल पठाइएकामा वैशाख दोस्रो साता मात्र काठमाडौं ल्याइएको थियो।
मंसिरमा ग्राउण्डेड हुनु २ महिनाअघि जहाजमा इजरायलमा १२ दिन लगाएर भाडाको इन्जिन हालिएको थियो। बिग्रिएको इन्जिन इजरायल एरोस्पेस इन्डस्ट्री (आईएआई)मा छोडिएको थियो।
तर, आईएआईले सम्झौता अनुसार न पहिले राखेको इन्जिन मर्मत गर्यो, न त अर्को इन्जिन उपलब्ध गरायो। जसका कारण जहाज १४९ दिन ग्राउण्डेड हुन पुगेको थियो। अधिकारीले जहाज ग्राउण्डेडलाई सामान्य बनाइदिए।
‘अधिकारीले उडान हुने टुंगो नभएका देशमा कर्मचारी सरुवा गरेर एनएसीलाई आर्थिक भार पार्ने देखि सरुवामा पैसा उठाउने काम गरे। जहाज सी चेकका लागि कम्पनी छनोट गर्दा अनियमितता भएको भनेर छानबिन समितिले नै भनेको हो,’ स्रोतले भन्यो, ‘अधिकारीले एनएसीको इतिहासमा एउटा कालो धब्बाका रुपमा आफ्नो नाम लेखाएका छन्।’











