नेपाल पुनर्बीमा कम्पनीको पुँजी वृद्धिको योजना : सतप्रतिशत हकप्रद सेयर जारी गर्ने



बिजमाण्डू
२०८२ साउन १५ गते ११:१६ | Jul 31, 2025

काठमाडौं। सरकारको ४४ प्रतिशत लगानी रहेको नेपाल पुनर्बीमा कम्पनीले पुँजी वृद्धिको योजना पेस गरेको छ। कम्पनीले सतप्रतिशत हकप्रद सेयर जारी गरेर पुँजी बढाउने योजना नेपाल बीमा प्राधिकरणमा बुझाएको छ।

Vigo
GBIME
Tata

प्राधिकरणले २०८० माघ १७ गते पुनर्बीमा कम्पनीको पुँजी २० अर्ब पुर्‍याउने निर्णय गरेको थियो। सुरुमा एक वर्षको समय दिएको प्राधिकरणले पछि एक वर्ष थपेको थियो। प्राधिकरणले गत पुस २५ गते फेरि नेपाल पुनर्बीमा कम्पनीलाई पत्र पठाइ पुँजी वृद्धिको योजना मागेको थियो।

कम्पनीले अर्थ मन्त्रालयको स्वीकृति लिएर पुँजी वृद्धिका लागि सतप्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ।

कम्पनीको सञ्चालक समितिको बुधबार बसेको बैठकले सतप्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो। यस सम्बन्धमा आगामी साधारण सभामा विशेष प्रस्ताव लाने कम्पनीले जनाएको छ।

प्राधिकरणले पुँजी वृद्धिका लागि रि-इन्स्योरेन्स कम्पनीलाई आगामी माघ मसान्तसम्मको समय दिएको छ।

नेपाल पुनर्बीमा कम्पनीको चुक्ता पुँजी हाल १३ अर्ब ४२ करोड रुपैयाँ छ।

प्राधिकरणले तोकेको सीमा एवं व्यवसाय विस्तार गर्न र अन्तर्राष्ट्रिय बजारमा उपस्थिति बढाउन चुक्ता पुँजी २६ अर्ब भन्दा बढी कायम गर्नुपर्ने व्यवस्थापनको सुझावका आधारमा अर्थ मन्त्रालयको स्वीकृति लिएर सतप्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय सञ्चालक समितिले गरेको पत्र कम्पनीले प्राधिकरणमा पठाएको छ।

हिमालयन रि-इन्स्योरेन्सले चुक्ता पुँजी वृद्धिका लागि ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव साधारण सभाबाट एक वर्ष अगाडि नै पारित गरेकामा प्राधिकरणले स्वीकृति दिएको छैन। यो कम्पनीको चुक्ता पुँजी हाल १० अर्ब ८६ करोड रुपैयाँ छ।