काठमाडौं। गत मंसिरमा देशभर १०० करोडको खेलको चर्चा रह्यो। कीर्तिपुरमा विदेशी चर्चित क्रिकेट खेलाडीमात्र उत्रिएनन्, नेपाली क्रिकेट स्टारस्पोर्ट्समै प्रसारण भएर विश्वमाझ फैलियो। अहिले फेरि त्यही एनपीएलको अर्को संस्करणको तयारी जोडतोडले हुँदैछ। तर, त्यसमा विवाद पनि उत्तिकै छ।
कीर्तिपुरमा रंगशाला बनिरहेको छ। फ्रेन्चाइजहरूले खेलाडी रिटेन र रिलिज गरिसके। अक्सनको तयारी हुँदा प्रशिक्षकहरूको पनि धमाधम नियुक्ति हुँदैछ। तर, पोहोर १०० करोडको पहिलो संस्करणकै हिसाबकिताब भने गुमनाम छ।
खै त हिसाब? यहीमा अल्मलिएको छ एनपीएलको दोस्रो संस्करणको माहोल।
हिसाब खोजतलास भइरहँदा क्यानले नै स्वीकारेको छ- ‘पहिलो संस्करणमा प्रक्रियागत त्रुटि भएको छ।’ तर, के कस्तो त्रुटि हो, त्यो खुलिसकेको छैन। न हिसाब सार्जनिक गरिएको छ।
‘पहिलो संस्करण भएकाले प्रक्रियागत त्रुटि भएको हुन सक्छ। दुई दिन अघिपछि काम भएको हुन सक्छ। छानबिन चलिरहेकै छ। अनियमितता गर्नका लागि एनपीएल सुरु गरिएको होइन। आगामी बोर्ड बैठकबाट सबै हिसाब पारदर्शी हुन्छ। क्रिकेट पारदर्शी हुँदैन भने कुन संघ पारदर्शी हुन्छ?,’ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भनेका छन्।
सम्बन्धित समाचार: एनपीएलमा प्रक्रियागत त्रुटि भएको हुन सक्ने भन्दै अध्यक्षले भने- महिलाको प्रिमियर लिगसमेत हुन्छ
एनपीएलको सुरुवात
नेपाल क्रिकेट संघ (क्यान) क्यानको २०८० असोज ६ गतेको निर्वाचनले चतुरबहादुर चन्दको नेतृत्वमा नयाँ कार्यसमिति आयो। यो कार्यसमितिको पहिलो बैठकले नै एनपीएल गर्ने निर्णय गरेको थियो। असार २१ मा बसेको कार्यसमितिको बैठकले मंसिर महिनामा एनपीएल गर्ने टुंगो लगाएको थियो।

मंसिर १० गते प्रधानमन्त्री केपी शर्मा ओलीले एनपीएलको ट्रफीको अनावरण गरे। मंसिर १५ गते एनपीएल सुरु भयो।
उजुरी र अनुसन्धान
एनपीएल भव्यताका साथ सम्पन्न गरेको क्यानले ‘१ सय करोडको ब्राण्ड’को चर्चालाई स्वीकार र अस्वीकार केही गरेको छैन। त्यस्तै हिसाबकिताब पनि सार्वजनिक गरेको छैन। आगामी बोर्ड बैठकबाट सबै स्पष्ट गर्ने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताएका छन्।
क्यानले एनपीएलको आयोजनाका क्रममा अनियमितता र गैरकानुनी क्रियाकलाप गरेको भन्दै दुई वटा उजुरी परेका छन्।
पहिलो उजुरीमा अमिर अख्तरले ट्रेडमार्कको विवाद उल्लेख गर्दै टीसीएम स्पोर्टस म्यानेजमेन्ट, दुबईलाई प्रोडक्सन ब्रोडकास्ट राइट सेवा १ लाख ८५ हजार अमेरिकी डलरमा खरिद कानुनविपरीत भएको र यसले नेपालको विदेशी मुद्रा दुरुपयोग गरेर कमिसन खान खोजिएको उल्लेख छ। त्यस्तै, टीसीएम नेपालमा कम्पनी रजिस्टर्ड कार्यालयमा टीसीएम स्पोर्ट्स मार्केटिङको नामले संचालित हुँदाहुँदै किन सोही कम्पनीको दुबईबाट सेवा खरिद गरेको भनेर प्रश्न उठाइएको छ।
त्यस्तै, उक्त सेवामा क्यानले किन टेण्डर आह्वान गरेन भनेर प्रश्न उठाइएको छ। खेलकुद विकास ऐनको हवाला दिँदै विदेशी संस्था वा निकायसँग सम्झौता गर्दा सरकारको स्वीकृति लिनुपर्ने व्यवस्था भए पनि स्वीकृति नलिइएको उल्लेख छ। यसको कारण क्यानका कार्यकारिणीहरूले भ्रष्टाचार गरेको आरोप छ।
दोस्रो उजुरीमा नेपाली मिडिया र विज्ञापन उद्योगको स्रोत र क्षमताको अवमूल्यन गरिएको उल्लेख गर्दै स्टार स्पोर्ट्सलाई नै छान्नुमा प्रश्न उठाएको छ। त्यस्तै, १० लाख प्रत्येक म्याचको दिने बुझिएको भन्दै खरिद ऐनविना कसरी भुक्तानी गर्न मिल्छ भनेर प्रश्न उठाइएको छ। त्यस्तै प्रतिस्पर्धाविना विदेशी टेलिभिजनलाई अधिकार दिँदा उत्पन्न हुने क्लिनफिड पोलिसीको पनि बर्खिलाप हुने उल्लेख छ।

युवा तथा खेलकुद मन्त्रालय र दुई कार्यदल
एनपीएलका विषयमा उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत फागुन २१ गते युवा तथा खेलकुद मन्त्रालयमा पत्र पठाएको थियो। चैतको ११ गते मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्लाई पत्र पठाउँदै छानबिन समिति गठन गरेर १५ दिनभित्रमा छानबिन प्रतिवेदन पठाउन लेखेको थियो।
परिषद्ले अञ्जन धमलाको संयोजकत्वमा नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिता छानबिन कार्यदल बनायो। यो कार्यदलले क्यानलाई एउटा पत्र पठायो र क्यानले पनि यसको जवाफ पठायो। तर, मन्त्रालयले यो समिति टुंगोमा नपुग्दै आफैं अर्को कार्यदल बनायो।
धमलाको कार्यदलले क्यानलाई ६ वटा प्रश्न राखेर पत्र पठाएको थियो। ४ वटा प्रश्नमा एनपीएल गर्ने निर्णयको सक्लल प्रति, तयारी समिति गठनको सक्कल प्रति, गभर्निङ काउन्सिल गठनको सक्कल प्रति मागिएको छ। बाँकी २ वटामा बोलपत्र आह्वानको रकमको मापदण्ड, आधार र प्रक्रियासहितको निर्णयको प्रतिलिपि र स्टार स्पोर्ट्सलाई प्रत्यक्ष प्रसारण दिँदा अपनाइएका कानुनी आधार र सोसम्बन्धी निर्णय र सम्झौता पत्रको प्रतिलिपि मागिएको थियो।
जवाफी पत्रमा क्यानले सूचना प्रकाशनका लागि इण्डियन प्रिमियर लिग (आईपीएल) को फ्रेन्चाइजका लागि काम गरिसकेका विज्ञ परामर्शदाताले पेस गरेको अनुमानित बजेटलाई स्वीकृत गरी उक्त बजेटका आधारमा न्यूनतम बोली रकम ५ करोड तय गरेको उल्लेख छ।
त्यस्तै, बोलपत्रको प्रक्रिया पूरा गरेको उल्लेख गर्दै स्टार स्पोर्टसको छनोट कमर्सियल पार्टनरको क्षेत्राधिकारभित्र रहेको र सोही कम्पनी (ब्राण्ड लजिक)ले सम्झौता गरेको उल्लेख छ। यसैलाई आधार बनाएर टीसीएम कम्पनीसँग आफ्नो कुनै सम्झौता र कारोबार नभएको क्यानले दाबी गरेको छ।
सम्बन्धित समाचार: एनपीएल छानबिन कार्यदलले बुझायो प्रतिवेदन, ‘क्यानको असहयोगले निष्कर्षमा पुग्न सकिएन’
यो कार्यदलले आफ्नो काम नसक्दै मन्त्रालयले रञ्जना प्रधानको संयोजकत्वमा अर्को कार्यदल बनायो। यो कार्यदलले पनि छानबिन अघि बढायो।
मन्त्रालयको कार्यदलको पहिलो पत्र र जवाफ
प्रधानको संयोजकत्वमा बनेको पहिलो कार्यदलले क्यानलाई पहिलो पत्र जेठ १४ मा पठायो। यो पत्रमा १० वटा विवरणमा केन्द्रित थियो। यो पत्रमा धमला कार्यसमितिले मगाएका कागजात फेरि माग गर्दै केही प्रश्नहरू अघि सारिएको थियो। क्यानले २१ गते लगभग पहिलो कार्यदललाई नै दिएको जवाफ नै दोस्रो कार्यदललाई फर्कायो।
कार्यदल र क्यानको प्रमुख सवाल जवाफ
कार्यदल: टीसीएम भन्ने कम्पनी कम्पनी रजिस्टारको कार्यालयमा दर्ता भइ कायम रहेको अवस्थामा यूएई, दुबईमा दर्ता रहेको सोही कम्पनीको नामबाट किन सेवा खरिद गर्नु भयो?
क्यान: नेपाल क्रिकेट संघले यूएई दुबईमा दर्ता रहेको टीसीएम नामक कम्पनीसँग कुनै पनि सेवा खरिद नगरेको व्यहोरा जानकारी गराइन्छ।
कार्यदल: टीसीएमलाई प्रोडक्सन/ब्रोडकास्ट राइटै सेवा खरिदको सम्झौता गरेवापत आम्दानी कर छली गरी विदेशी मुद्रा दुरुपयोग गरी आर्थिक हिनामिना गर्नु भएको हो?
क्यान:टीसीएम स्पोर्टसलाई प्रोडक्सन/ ब्रोडकास्टिङ राइटसम्बन्धी सम्झौता खरिद गरेवापत प्राप्त आम्दानीबाट करछली गरी विदेशी मुद्रा दुरुपयोग र आर्थिक हिनामिना भएको भन्ने आरोप भ्रामक, कपोलकल्पित र तथ्यहीन भएको ब्यहोरा जानकारी गराउँछौँ।
कार्यदल: तपाइँ राष्ट्रिय खेलकुद परिषद्बाट स्वीकृत विधान बमोजिम स्थापित संस्थाले नेपालमा रहेको सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनकिक खरिद नियमावली २०६४ र राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ४४ (२) विपरीत कार्य गर्न मिल्छ?
क्यान:क्यान नेपालको राष्ट्रिय खेलकुद परिषद्बाट स्वीकृत विधान बमोजिम स्थापित संस्था रहेको र क्यानले प्रचलित कानुन बमोजिम कार्य गर्दै आएको छ। क्यानले टीसीएम कम्पनीसँग कुनै पनि सम्झौता नगरेको स्पष्ट पार्न चाहन्छौँ।
कार्यदल: तपाइँले उक्त कम्पनीलाई एकलौटी ढंगबाट प्रसारण अनुमति प्रदान गर्दा कति रकममा सम्झौता गर्नु भएको हो? सो तथ्यलाई पुष्टि गर्ने आधार प्रमाण पेस गर्नुहोस्।
यसको जवाफ क्यानले दिएन। यसअघि नै क्यानले आफूले टीसीएमसँग कुनै सम्झौता नभएको दाबी गरेको थियो। यसमा क्यानले एनपीएलले बनाएको व्यावसायिकता, राष्ट्रियता, एकता लगायत क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरेको छ।

कार्यदलको दोस्रो पत्र, क्यानको जवाफ
कार्यदलले पहिलो जवाफमा सक्कल पत्र पठाउन भनिएकोमा अपूर्ण विवरणको प्रतिलिपि पठाएको उल्लेख गर्दै जेठ २६ गते दोस्रो पत्र काट्यो। यति विवरणले उजुरी बमोजिम विवरण पेस गर्न नसकिएकाले थप विवरण माग्यो।
यो पत्रमा १४ वटा विवरण माग गरिएको छ। यसमा सुरुका ६ वटा बुँदामा विभिन्न निर्णयहरूको सक्कल प्रति मागिएको छ भने बाँकीमा कार्यसञ्चालनलाई लिएर प्रश्नहरू उठाइएको छ। यसको जवाफ क्यानले असार २ गते पठाएको थियो।
दोस्रो पत्रमा पनि कार्यदलले टीसीएमसँगको सम्झौताको बारेमा थप स्पष्ट पार्न र यसबाट आर्थिक हिनामिना गर्ने खोजेको हो? भनेर प्रश्न उठाएको छ। यसमा क्यानले पुरानै उत्तर दोहोर्याउँदै टीसीएमसँगै कुनै सम्झौता र कारोबार नरहेको जिकिर गरेको छ।

कार्यदलको दोस्रो पत्रका मुख्य सवालजवाफ
कार्यदल: एनपीएलमा विदेशी परामर्शदाता र नेपाली कानुनी सल्लाहकार राखेको देखियो। विदेशी परामर्शदाता नियुक्त गर्दा खेलकुद विकास ऐन २०७७ को दफा ४४ (२) विपरीत कार्य किन गर्नु भयो?
क्यान:नेपाल क्रिकेट संघले नेपाल प्रिमियर लिग प्रतियोगिता गर्ने निर्णय गरेपश्चात यस प्रतियोगितालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लिनुपर्ने हुँदा सो कार्यका लागि विदेशी लिगहरूको अनुभवप्राप्त क्रिकेट विज्ञ नेपालमा नभएकोले प्रतियोगिताको लागत, स्तरमा पुर्याउनका लागि आवश्यक अनुभवी विदेशी लिगहरूमा काम गरी अनुभव प्राप्त क्रिकेट विज्ञको सरसल्लाह र परामर्श लिन ३ महिनाका लागि नियुक्त गरिएको व्यहोरा जानकारी गराउन चाहन्छु।
कार्यदल: First Date of Publication 11th Sept. 2024 को Invitation for Bids No.- CAN/02 को सूचना प्रकाशनका लागि तय गरिएको रकमको मापदण्ड, आधार र प्रक्रिया सहितको निर्णयको प्रतिलिपी।
क्यान: First Date of Publication 11th September 2024 को Invitation for Bids No.- CAN/02 को सूचना प्रकाशनका लागि तय गरिएको मापदण्डका सम्बन्धमा नेपाल प्रिमियर लिगका लागि नियुक्त गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल) को फ्रेञ्चाइज राजस्थान रोयल्ससँग काम गरिसकेका क्रिकेट विज्ञ परामर्शदाता मनिष सुदर्शन पाण्डेले पेस गरेको अनुमानित बजेटलाई स्वीकृत गरी उक्त बजेटले प्रक्षेपण गरेको प्रायोजन तथा मिडिया अधिकारबाट प्राप्त हुने आम्दानीबाट बढोत्तरी हुने गरी न्यूनतम बोली रकम रुपैयाँ ५ करोड तय गरिएको व्यहोरा जानकारी गराउन चाहन्छौं।
कार्यदल: TCM भन्ने विदेशी कम्पनी नेपालको कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई कायम रही रहेको अवस्थामा यूएई, दुबई मा दर्ता रहेको सोही कम्पनीको नामबाट किन सेवा खरिद गर्नु भयो ? सो कम्पनीलाई Production/Board Cast Right सेवा खरिदको सम्झौता गरेवापत प्राप्त आम्दानी कर छली गरी विदेशी मुद्रा दुरुपयोग गरी आर्थिक हिनामिना गर्नु भएको हो? त्यस किसिमको कार्य गर्न तपाईलाई कुन ऐन, नियमले अधिकार प्रदान गरेको थियो?
क्यान: पुनः स्पष्ट पार्दै, नेपाल क्रिकेट संघले कुनै सम्झौता नगरेको र प्राप्त आम्दानीबाट करछली गरी विदेशी मुद्रा दुरुपयोग र आर्थिक हिनामिना भएको भन्ने आरोप मिथ्या र तथ्यहीन रहेको व्यहोरा जानकारी गराउन चाहन्छौं।
कार्यदल:तपाइँ अध्यक्ष रहेको क्यान राखेपबाट स्वीकृत विधान बमोजिम स्थापित संस्था भएकोले नेपालमा रहेको सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ र राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ४४ (२) विपरीत कार्य गर्न मिल्छ?
क्यान: क्यान नेपालको राखेपबाट स्वीकृत विधान बमोजिम स्थापित संस्था रहेको र यसले प्रचलित कानुन बमोजिम कार्य गर्दै आएको छ। नेपाल क्रिकेट संघले टीसीएम कम्पनीसंग प्रसारणसम्बन्धी कुनैपनि सम्झौता नगरेको स्पष्ट पार्न चाहन्छौं।
कार्यदल: TCM: Sports Management LLC DUBAI लाई Production/Board Cast Right सहित खरिद सम्झौता गरी उक्त विदेशी कम्पनीलाई के कसरी कुन माध्यमबाट भुक्तानी गर्नु भयो? के यस किसिमको कार्य गर्न प्रचलित नेपाल कानुनले तपाईँलाई अधिकार प्रदान गरेको छ ?
क्यान: टीसीएमसँग प्रोडक्सन र ब्रोडकास्ट राइट खरिदका लागि क्यानसँग कुनै सम्झौता नरहेको हुँदा उक्त विदेशी कम्पनीलाई क्यानले भुक्तानी नगरेको जानकारी गराउन चाहन्छु।
कार्यदल: माननीय युवा तथा खेलकुद मन्त्रीज्यूबाट गठित यस कार्यदलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्राप्त उजुरीमा उल्लेखित विषयवस्तुमा स्पष्टता हुनका साथै आयोगमा सत्यतथ्य विवरण पेस गर्नु पर्ने दायित्व रहे भएकै कारणबाट नेपाल क्रिकेट संघलाई पत्राचार गर्दा समेत स्पष्ट जवाफ नदिई केवल झारा टार्ने किसिमबाट जवाफ दिई छानबिन कार्यमा पूर्ण असहयोग किन गर्नु भएको हो? तपाइँले औचित्यहिन ढंगबाट छानबिन कार्यदलको कार्यमा बाधा व्यवधान खडा गरी कानुन विपरीतको कार्य गर्नु भएको होइन?
क्यान: क्यान राखेपमा दर्ता भई स्वीकृत विधान बमोजिम खेलकुद ऐन तथा प्रचलित कानुन बमोजिम कार्यहरू गर्दै आइरहेको हुँदा यस छानबिन प्रक्रियामा नेपाल क्रिकेट संघको पूर्ण सहयोग रहेको र रहने व्यहोरा जानकारी गराउन चाहन्छु।
सम्बन्धित समाचार: के एनपीएल-२ रोकिन्छ? कार्यदल भन्छ ‘रोक्नै खोजेको होइन, हिसाब प्रष्ट मागेको हो’
तेस्रो पत्रको अनुत्तरित प्रश्न!
क्यानको दोस्रो जवाफलाई कार्यदलले सतही उत्तरमात्र आएको भन्दै असार २२ गते तेस्रो पत्र काट्यो। यसमा कार्यदलले माग गरेको वा उजुरी उल्लेखित विषयवस्तु सम्बन्धमा छानबिन कार्यदल निष्कर्षमा पुग्न नसकेको भन्दै ‘झारा टार्ने उद्देश्यले अभिप्रेरित’ जवाफ आएको निष्कर्ष निकाल्यो। र, क्यानलाई १२ घण्टाभित्रमा जवाफ दिन भन्दै ५ वटा प्रश्न सोध्यो।
तेस्रो पत्रमा कार्यदलले पठाएको पत्र
क) नेपाल क्रिकेट संघ, राष्ट्रिय खेलकुद परिषद्मा विधान बमोजिम स्थापित संस्थाले सेवा तथा वस्तु खरिदमा सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ को प्रतिकूल कार्य गरी एनपीएलको प्रसारण सम्बन्धि कार्य गर्न तपाईलाई कुन ऐनले अधिकार दिएको हो?
ख) त्यस संघबाट आयोजित NPL प्रतियोगिता आयोजना गर्ने भन्ने निर्णय लामो समय अगाडिनै भई सकेता पनि त्यस संघबाट निकालिएको वोलपत्रमा स्पष्ट समय नखुलाई गोलमटोल ढंगबाट सार्वजनिक सूचना प्रकाशित गरी स्वस्थ प्रतिस्पर्धा नहुने अवस्था किन सिर्जना गर्नु भएको हो? स्पष्ट खुलाउनु हुन।
ग) त्यस संघबाट आयोजित NPL प्रतियोगिता आयोजना गर्ने क्रममा विदेशी परामर्श दाताको रुपमा श्री मनिश सुदर्शन पाण्डे जो भारतीय नागरीक हुन उनलाई परामर्श दातासम्बन्धी कार्य गराउँदा राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ४४ (२) विपरीत कार्य गर्न मिल्छ? स्पष्ट खुलाउनु हुन।
घ) त्यस संघबाट आयोजित एनपीएल प्रतियोगिता आयोजना गर्ने क्रममा स्वदेशी प्रसारणकर्ता कम्पनीहरूलाई प्रतिस्पर्धामा आउन नसक्ने गरी किन त्यस खालको संकुचित मापदण्ड बनाई सिन्डिकेट कायम गर्न मिल्छ?
ङ) उजुरीमा उल्लेखित विषयवस्तुका सम्बन्धमा स्पष्ट पार्नु पर्ने दायित्व नेपाल क्रिकेट संघको हो? होइन्? अतः उक्त दुईवटै उजुरीमा उल्लेखित एनपीएल प्रतियोगिताका सम्बन्धमा उठेका विषयवस्तु स्पष्ट पारी छानबिन कार्यदल निष्कर्षमा पुग्न सहयोग गरिदिनुहुन जानकारी गराइछ।
तेस्रो पत्रमा कार्यदलले क्यानलाई अनुसन्धानको कार्य सम्पन्न नभएसम्म एनपीएल दोस्रो संस्करणको काम नगर्न भनेको थियो। यस विषयले क्रिकेट वृत्तमा तरंग पनि ल्याएको थियो। राखेपले यो पत्रपछि विज्ञप्ति निकाल्दै कार्यदललाई राखेपको लेटरहेड प्रयोग नगर्न निर्देशन दिएको थियो।

प्रतिवेदन र निष्कर्ष
कार्यदलले असार २७ गते प्रतिवेदन बुझाइसकेको छ। आफूले विभिन्न मितिमा एनपीएलका दौरान भएका आर्थिक क्रियाकलापसँग सम्बन्धित कागजात माग्दा नपाएको बताएको छ।
‘जेठ १४ गते पठाएको पत्रमा २१ गते क्यानको पत्र पायौं। त्यसमा तथ्य होइन भावनात्मक बेहोरा उल्लेख गरिएको थियो। जेठ २६ गते सक्कलै कागजात पेस गर्न पत्र पठाएकामा असार ३ गते झारा टार्ने हिसाबको जवाफ आयो,’ कार्यदलको प्रतिवेदनमा भनिएको छ।
कार्यदलले असार २२ गते क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई १२ घण्टाभित्र जवाफ दिन पत्र लेखेको थियो। तर, चन्दले जवाफ नै नदिएको कार्यदलले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ।
‘उजुरीसँग सम्बन्धित निकाय नेपाल क्रिकेट संघ र जिम्मेवार पदाधिकारीहरूले छानबिन कार्यदलबाट उजुरीमा उल्लेखित विषयवस्तुका बारेमा ३ पटकसम्म पत्राचार गरिएकामा २ पटक सतही जवाफ आएको र तेस्रो पत्राचारको कुनै जवाफ पेस नगरिएकाले छानबिन कार्यदल निष्कर्षमा पुग्न नसक्ने अवस्था सिर्जना भयो,’ प्रतिवेदनमा भनिएको छ।
युवा तथा खेलकुदमन्त्री चौधरीले विज्ञप्ति निकाल्दै कार्यदलले प्रतिवेदन बुझाएको र मन्त्रालयले यसमा अध्ययन गरेर कार्यान्वयनको प्रक्रिया अघि बढाउने उल्लेख गरेका छन्।
उनले आफूले एनपीएल रोक्न खोजेको आरोप गलत भएको भन्दै क्रिकेटप्रमी, खेलाडी र प्रतिस्पर्धी टोलीको मनोबल घटाउने काम नगर्न चेतावनी दिएका छन्।
अब के हुन्छ?
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले प्रतिवेदन अध्ययन गरेको बताउँदै राष्ट्रिय खेलकुद परिषद्मा पत्र पठाउने तयारी गरेको बताए।
‘मन्त्रालयबाट थप छानबिनका लागि राष्ट्रिय खेलकुद परिषद्मा चिठी जाँदैछ। उहाँको राय सुझाव के आउँछ, त्यसपछि हामीले सम्बन्धित निकायमा पठाउने हो,’ मन्त्री चौधरीले बिजमाण्डूसँग भने।
क्यान व्यवस्थित हिसाबले नचलेको पाएको उनले बताए। संघ राखेपमा दर्ता भएकाले त्यहाँको राय लिने तयारी गरिएको जानकारी उनले दिए। यसको प्रक्रियामा अब एक हप्ता जति लाग्ने बुझिएको छ।
‘ऐन कानुन नमानेको पाइयो। हाम्रो नियमावली, ऐन, संघले गर्नुपर्ने दायित्व, देशको खरिद ऐन लगायत नियम कानुनहरू छ। त्यसलाई मानिएको छैन,’ उनले भने, ‘ट्याक्सको कुराहरू आउँछ। जुन प्रश्न उठाइएको थियो, त्यसको आधिकारिक जवाफ छैन।’








![लक्ष्मीपूजा र दिपावलीले यसरी झिलिमिली बन्यो काठमाडौं उपत्यका [तस्बिर] लक्ष्मीपूजा र दिपावलीले यसरी झिलिमिली बन्यो काठमाडौं उपत्यका [तस्बिर]](https://bizmandu.com/wp-content/uploads/2026/11/848804182_1140586615022874_2099901756651918260_n-1-300x300.jpg)
