मोटरसाइकल सवारसँग नगद ७ लाख बरामद, स्रोत खुलाउन नसक्दा पक्राउ

बिजमाण्डू
२०८२ असार २१ गते ०९:१३ | Jul 5, 2025
मोटरसाइकल सवारसँग नगद ७ लाख बरामद, स्रोत खुलाउन नसक्दा पक्राउ

काठमाडौं। आफूले बोकेको पैसाको विश्वसनीय स्रोत खुलाउन नसक्दा सप्तरीको बलान बिहुल-२ बाट एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिरहाको भगवानपुर-४ ठारीका ५८ वर्षीय जगदीश यादव छन्।

Tata
GBIME

उनी म.प्र-०१-००४ प ७९८९ नम्बरको मोटरसाइकल चलाएर आइरहेका थिए। जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले बिहीबार साँझ उनलाई रोकेर जाँच गरेको थियो। साथबाट नगद ७ लाख रूपैयाँ भेटिँदा उनले उक्त रकमको विश्वसनीय स्रोत बताउन सकेनन्। 

स्रोत खुलाउन नसक्दा रकमसहित उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उक्त रकम हुन्डीको हुन सक्ने शंका प्रहरीको छ। बलान बिहुल सप्तरीमा भारतीय सीमासँग जोडिएको गाउँपालिका हो।

यसअघि सोही दिन बिहान प्रहरीले धनुषाको शहीदनगर-३ यदुकुहाबाट ८ लाख ५० हजार रूपैयाँ सहित २ जनालाई नियन्त्रणमा लिएको थियो। पक्राउ पर्नेहरूमा भारतको बिहार मधुवनी बासोपट्टीका ४१ वर्षीय श्रवण महतो र ३२ वर्षीय महेशकुमार झा छन्।

इलाका प्रहरी कार्यालय यदुकूहाबाट खटिएको प्रहरी टोलीले बीआर ३२ वाई ९२६८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।