
काभ्रेपलाञ्चोक। काभ्रेको बनेपा नगरपालिका ४ र १ को सीमामा रहेको पुल भाँचिएपछि उक्त सडकखण्डमा यातायात अवरुद्ध भएको छ। काभ्रेको नाला र भक्तपुरको च्यामासिङ खण्डअन्तर्गत उक्त सडक पूर्वतर्फबाट काठमाडौं जाने वैकल्पिक मार्गका रुपमा प्रयोग हुँदै आएको छ।
चार दशक पुरानो उक्त पुल भाँचिएपछि सवारी आवागमन रोकिएको छ। आज बिहानै मालबाहक गाडीले पार गरेलगत्तै पुल भाँचिएको स्थानीय शान्तलाल श्रेष्ठले बताए। पुल भाँचिएपछि यो बाटो आउजाउ गर्ने सवारीलाई रोक लगाइएको छ।
हाल अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार भइरहेकाले विगत दुई वर्षदेखि राजमार्गमा गुड्ने अधिकांश सवारी नाला–च्यामासिङ सडकखण्ड प्रयोग गर्दै आएका थिए।
जिल्ला ट्राफिक कार्यालय बनेपाले भक्तपुरबाट उक्त सडकखण्डमा सवारी नपठाउन भनिएको र बनेपाबाट राजधानीतर्फ जाने सवारी बनेपामा रोकिएको जनाएको छ।
कार्यालय प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजूले उक्त सडकखण्ड अस्थायी रुपमा सञ्चालन गर्न सडक विभाग र स्थानीय तहसँग समन्वय भइरहेको जानकारी दिए। रासस