
काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत महामन्त्री गगन थापाविरुद्ध खनिएका छन्।
जारी केन्द्रीय समितिको बैठकमा टेरामक्स प्रकरणमा आफूविरुद्ध मुद्दा दायर गराउन लागेको भन्दै बस्नेतले थापाको आलोचना गरेका हुन्।
बुधबारको बैठकमा आफ्नो धारणा राख्ने क्रममा बस्नेतले महामन्त्री थापाले सदनदेखि सार्वजनिक मञ्चहरुमा आफूविरुद्ध बोलेको बताए। ‘मविरुद्ध सरकार त लाग्यो नै। महामन्त्री गगन थापा पनि लाग्नुभयो,’ बस्नेतले भने।
उनले टेरामक्स प्रकरणमा आफू निर्दोष रहेको दाबी गर्दै आफूमाथि जस्तै छानबिन गरे कोही नेता बाँकी नरहने बताए।
टेरामक्स प्रविधि खरिदमा अनियमतिता भएको भन्दै अख्तियारले तत्कालीन सञ्चारमन्त्री बस्नेतसहित १६ जना ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार रुपैयाँ बिगो कायम गरी जेठ १ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
त्यो मुद्दामा असार १५ गते २५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए।