
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भएको बताएका छन्।
योङ कम्युनिष्ट लिग, नेपाल (वाइसिएल) को केन्द्रीय पदाधिकारी बैठकलाई आज पेरिसडाँडामा सम्बोधन गर्दै उनले विधेयकमा चलखेल र छेडखानी गर्ने प्रवृत्तिलाई छुट दिन नसकिने भन्दै छानबिन गरेर कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने बताएका हुन्।
‘परिवर्तनका उपलब्धीहरू उल्ट्याउने षड्यन्त्र हुँदै आएको छ। आज तपाईंहरूले संघीय निजामति विधेयकमा पनि हेर्नुभएको छ, त्यसमा षड्यन्त्र भएको छ,’ उनले भने, ‘यो विधेयकमा कसले बदमासी गर्यो, त्यसको छानबिन गरि चलखेल तथा छेडखानी गर्ने प्रवृत्तिमाथि कारबाही गराउनेतर्फ हामी लागेका छौं।’
उनले यथास्थिति र प्रतिगमन उल्ट्याउने प्रयास भइरहेको भन्दै आफूहरुले पार्टीको अभियान नै रोकेर प्रतिवाद गरेको बताएका छन्। अहिले पनि त्यस्तै प्रवृत्ति जारी रहेको उनको मत थियो।
कार्यक्रममा प्रचण्डले वाइसिएल नेपाललाई पार्टीको विचार, लाइन र विधानप्रति पूर्ण प्रतिबद्धताका साथ अघि बढ्न आग्रह गरेका थिए।
‘वाइसिएल नेपाल पार्टीको उत्तराधिकारी संगठन हो। प्रतिक्रियावादी षड्यन्त्रलाई चिर्ने शक्ति हो,’ उनले भने।
उनले वाइसिएललाई संगठन निर्माणलाई प्राथमिकतामा राख्न निर्देशन पनि दिएका छन्।