देशलाई ‘ई गभर्नेन्स’को युगमा लैजाने हो भने सुरुवात प्रधानमन्त्री कार्यालयबाट हुनुपर्छ :अन्जान शाक्य 

बिजमाण्डू
२०८२ असार १७ गते १४:५३ | Jul 1, 2025
देशलाई ‘ई गभर्नेन्स’को युगमा लैजाने हो भने सुरुवात प्रधानमन्त्री कार्यालयबाट हुनुपर्छ :अन्जान शाक्य 

काठमाडौं । राष्ट्रिय सभा सदस्य डा। अन्जान शाक्यले कृषि क्षेत्र हरेक नेपालीको भान्सा र भविष्यसँग जोडिएको भन्दै परम्परागत प्रविधि नभई आधुनिक प्रविधिको विकासमा जोड दिनुपर्ने बताएकी छन्।

Tata
GBIME

विनियोजन विधेयक २०८२ का विभिन्न शीर्षक माथि राष्ट्रियसभामा भएको छलफलका क्रममा उनले भनिन्, ‘कृषि क्षेत्र एउटा यस्तो विशाल सम्भावनाको खानी हो जहाँ हामीले वैज्ञानिक, किसान, उद्यमी र युवाहरुका लागि लाखौँ रोजगारी सिर्जना गर्न सक्छौं। यसको एउटै मात्र बाटो भने कृषिमा आधुनिकीकरण र विशिष्टीकरण हो।’

उनले नेपालमा एउटा ‘उत्कृष्ट कृषि केन्द्र’को स्थापना हुनुपर्ने बताएन्।  ‘यो केन्द्र केवल एउटा भवन हुने छैन। यो ज्ञान, विज्ञान, प्रविधि र उद्यमशीलताको त्रिवेणी हुनेछ जहाँ हाम्रा वैज्ञानिकले अनुसन्धान गर्नेछन्। नयाँ अवसर पाउनेछन् र किसानले आधुनिक प्रविधि सिक्नेछन्। यो कृृषि केन्द्रको अवधारणालाई राष्ट्रिय गौरवको आयोजनामा परिणत गरियोस् र यसका  लागि आवश्यक बजेट तत्काल विनियोजन गरियोस्।’

त्यस्तै, उनले बजेट आवश्यकता र औचित्यको समानुपातिक वितरणको सिद्धान्त भन्दा पनि पहुँच हावी भएको जस्तो देखिएको टिप्पणी गरेकी छन्।

‘बजेटको अंकगणितले स्पष्ट रुपमा आवश्यकता र औचित्यको समानुपातिक वितरणको सिद्धान्त भन्दा पहुँच हावी भएको जस्तो देखिएको छ,’ शाक्यले भनिन्, ‘सरकार तथा सरकारी निकायमा बस्ने जिम्मेवार महानुभावहरुले आफ्नो व्यक्तिगत गाउँ–ठाउँ वा निर्वाचन क्षेत्रको मोह भन्दा माथि उठेर समग्र मुलुकको आवश्यकता र प्राथमिकतालाई मध्यनजर गर्नुपर्ने हुन्छ।’

उनले देशैभरीका जिल्ला तथा निर्वाचन क्षेत्रहरुको भएको बजेट विनियोजनको आकार हेर्ने हो भने ठूलो खाडल देखिने पनि बताइन्। 

सरकारले हरेक कामलाई डिजिटलाइज गर्ने र प्रविधिमैत्री बनाउने लक्ष्य लिनु सकारात्मक भएको उनले बताइन्। प्रधानमन्त्री कार्यालयमा सबै मन्त्रालयका कार्यप्रगति  र मुख्य सूचकहरु एउटै स्क्रिनमा प्रत्यक्ष देख्नका लागि ‘रियल टाइम ड्यासबोर्ड’ राख्नुपर्ने उनको सुझाव थियो।

‘एउटा समान्य निजी कम्पनीले समेत आफ्ना दर्जनौँ शाखाहरुको अवस्था एकै ठाउँमा अनुगमन गर्न सकछ भने देश चलाउने सरकारले किन नसक्ने? देशलाई ‘ई गभर्नेन्स’को युगमा साच्चिकै लैजाने हो भने यसको सुरुवात सिंहदरबारको मुटु अर्थात प्रधानमन्त्री कार्यालयबाट हुनुपर्छ।  तसर्थ यस प्रणालीका लागि विनियोजित बजेट अत्यन्तै अपुग छ र यसलाई तत्काल बढाइनुपर्छ,’ उनले भनिन्।