
काठमाडौं। पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल वायुसेवा निगमको सदृढीकरण अपरिहार्य रहेको बताएका छन्।
उनले मंगलबार निगमको ६७औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा निगम अहिलेकै अवस्थाबाट संकटमुक्त हुन नसक्ने भन्दै सुधारको आवश्यकता औंल्याएका हुन्।
‘ऐतिहासिक महत्व बोकेको र राष्ट्रको पर्यटन क्षेत्रको मेरुदण्डको रुपमा रहेको निगमको सुदृढीकरण आजको अनिवार्य आवश्यकता हो,’ उनले भने।
निगमले हाल दुई वटा वाइडबडी र दुई वटा न्यारोबडी जहाजमार्फत भारतको नयाँदिल्ली, बेङ्लोर र मुम्बई तथा हङ्कङ, क्वालालाम्पुर, बैंकक, जापानको नारिता, कतारको दोहा, युनाइटेड अरब इमिरेटसको दुबई र साउदी अरबको रियादमा उडान गर्दै आएको छ।
निगमसँग आन्तरिक उडानका लागि दुई वटा ट्विनअटर विमान छन्। जहाज उडानबाट निगमले नाफा आर्जन गर्न सकेको छैन। जसका कारण निगमको ऋणको भार बढेको बढ्यै छ। निगमले जहाज किन्न लिएको ३४ अर्ब ऋण बढेर ५२ अर्ब नाघिसकेको छ।
मन्त्री पाण्डेले सरकार निगमको साथमा रहेको भन्दै व्यवस्थापनलाई परिणाममुखी काम गर्न निर्देशन दिए।