
काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल बैंक फर इन्टरनेसनल सेटलमेन्ट्स (बीआईएस)को ९५ औं वार्षिक बैठकमा सहभागी भएका छन्।
उनी स्विट्जरल्याण्डको बासेलमा आयोजित तीन दिने बैठकमा सहभागी भएका हुन्। बीआईएसमा ६३ देशका केन्द्रीय बैंक सदस्य छन्। बैठकमा बीआईएस सदस्य राष्ट्र एवं विश्वका विभिन्न देशका केन्द्रीय बैंकका गभर्नर सहभागी थिए।
बैठकका क्रममा गभर्नर डा. पौडेलले बीआईएसका महाप्रबन्धक अगस्टिन कार्सटेन्स तथा बीआईएसका बैंकिङ विभाग प्रमुख
लगायतसँग छलफल गरेका थिए।
उनीहरुसँग विदेशी विनिमय सञ्चिति लगानी विविधीकरणका लागि सुन खरिद तथा विश्वबजारमा उपलब्ध नयाँ नयाँ उपकरणमा लगानी गरी विदेशी विनिमय सञ्चिति व्यवस्थापनबाट प्राप्त हुने प्रतिफल बढाउन सहकार्य गर्ने विषयमा छलफल भएको राष्ट्र बैंकले जनाएको छ।
विदेशी विनिमय सञ्चितिको व्यवस्थापन गर्न थप लगानीका अवसरका लागि आवश्यक सहकार्य गर्ने विषयमा समेत छलफल भएको थियो।
गभर्नर डा. पौडेलले भारतीय रिजर्व बैंकका गभर्नर सञ्जय मल्होत्रासँग पनि भेटवार्ता गरेका थिए। भेटमा दुई केन्द्रीय बैंकबीचको आपसी सम्बन्ध थप विस्तार र द्विपक्षीय सहकार्य अभिवृद्धि, भुक्तानी प्रणालीलाई सहज बनाउने र
जनशक्तिको क्षमता विकासमा निरन्तर समन्वय गर्ने विषयमा छलफल भएको थियो।
पौडेलले पिपुल्स बैंक अफ चाइनाका गभर्नरसँग पनि द्विपक्षीय सहयोग, बैकिङ कारोबार एवं भुक्तानी प्रणालीलाई सहज र प्रभावकारी बनाउनका लागि निरन्तर सहकार्य गर्ने विषयमा छलफल गरेका थिए।
गभर्नर पौडेलसँग राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक गोविन्दप्रसाद नागिला र गभर्नरको कार्यालयका निर्देशक शरण कुमार अधिकारी पनि थिए।