
काठमाडौं। पत्रकार दिलभूषण पाठकविरुद्ध अदालतमा मुद्दा दायर भएको छ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पाठकविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा दायर गरेको हो। पक्राउ पुर्जी जारी भएकाले उनलाई फरार प्रतिवादी बनाइएको छ।
उनीमाथि दफा ४७ को उपदफा १ बमोजिम कारबाहीको माग गरिएको छ। जसमा कसुर प्रमाणित भएका १ लाख रुपैयाँ जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ।
ऐनको दफा ७६ बमोजिम ‘पीडित पक्ष’लाई मनासिब क्षतिपूर्ति भराउन समेत माग गरिएको छ।
पाठकले आफ्नो युट्युब च्यानलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयबीरलाई विवादास्पद व्यापारी दीपक भट्ट र हिलटन होटेलको सेयरसँग जोडेर सामग्री प्रसारण गरेका थिए।
पाठकविरुद्ध पक्राउ पुर्जी जारी गरेदेखि नै नेपाल पत्रकार महासंघ लगायत विभिन्न संघ संस्था र राजनीतिक दलका नेताहरूले विरोध गर्दै आएकाछन्। उच्च अदालत पाटनले पाठकलाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको थियो।