फुटबल कप्तान किरण आइटी कम्पनी सुत्रको ब्रान्ड एम्बेसडर, ३० लाख बराबरको सम्झौता

बिजमाण्डू
२०८२ असार १६ गते १६:५७ | Jun 30, 2025
फुटबल कप्तान किरण आइटी कम्पनी सुत्रको ब्रान्ड एम्बेसडर, ३० लाख बराबरको सम्झौता

काठमाडौं। नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ आइटी कम्पनी सुत्र इन्कको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्।

Tata
GBIME

संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको र ११ वर्षदेखि प्रविधि क्षेत्रमा नवप्रवर्तनकारी समाधानहरू प्रदान गर्दै आएको आईटी कन्सल्टिङ कम्पनीले किरणलाई ३ वर्षका लागि सोमबार आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको हो।

सम्झौता ३० लाख रुपैयाँ बराबरको रहेको उल्लेख गर्दै आइटी सुत्रले यो समझौताले प्रविधि र खेलकुद दुई क्षेत्रलाई जोडेको बताइएको छ। कम्पनीको मुख्य उद्देश्य नेपाली प्राविधिक क्षमतालाई विश्व बजारमा प्रतिस्पर्धी बनाउनु रहेकोले किरणको प्रतिबद्धता, अनुशासन र अन्तर्राष्ट्रिय छविले कम्पनीको मिसनलाई थप बल पुर्‍याउने विश्वास लिएको बताइएको छ।

‘किरण चेम्जोङ खेलकुदको मैदानमा मात्रै होइन, हरेक नेपाली युवाका लागि प्रेरणाको स्रोत हुन्। उनको अटल समर्पण र विश्वास कम्पनीको मूल्यमान्यतासँग मेल खान्छ,’ कम्पनीका सीइओ पंकज श्रेष्ठले सहकार्यबारे भने, ‘यो केवल एउटा व्यावसायिक सम्झौता मात्र नभई नेपाली प्रतिभालाई प्रविधि र खेलकुद दुवै क्षेत्रमा अगाडि बढाउने हाम्रो साझा प्रतिबद्धता हो।’

किरण अहिले अमेरिका भ्रमणमा छन्। डेढ दशकभन्दा लामो समयदेखि राष्ट्रिय टोलीको गोलपोस्ट सम्हाल्दै आएका किरण राष्ट्रिय टोलीबाट एक सय खेल पूरा गर्ने पहिलो नेपाली खेलाडीको हुन्।