
काठमाडौं। २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक परीक्षा आगामी साउन २९ देखि भदौ ६ गतेसम्म हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको समय तालिका शनिबार सार्वजनिक गरेको हो।
एसइईमा ग्रेड प्राप्त गर्न नसकेका तथा विभिन्न कारणले गत चैतमा परीक्षा दिन छुटेका १ लाख ६० हजारभन्दा बढी विद्यार्थी पूरक परीक्षामा सहभागी हुन पाउने छन्।
बोर्डले एसइईको नतिजा शुक्रबार सार्वजनिक गरेको थियो। ४ लाख ३८ हजार ८९६ परीक्षार्थी सहभागी यस पटकको एसइईमा २ लाख ७१ हजार २९९ जना उत्तीर्ण भएका छन्।
अनुत्तीर्ण अर्थात् नन ग्रेडेडमा परेकाको संख्या १ लाख ६७ हजार ५९७ जना छ।