
काठमाडौं । अटो व्यवसायीहरुको संस्था नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले चारजना केन्द्रिय कार्यसमिति सदस्यसँग स्पष्टीकरण मागेको छ।
नाडाले अध्यक्ष करण चौधरीलाई कालो मोसो दल्ने, उनीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने र नाडामा तालाबन्दी गर्ने तथा नाडालाई स्पेयर पार्ट्सहरुको संस्था बनाउने जस्ता विधानविपरित संस्थाको साख विपरित अभिव्यक्ति दिएको भन्दै उनीहरुलाई ७ दिने लिखित स्पष्टीकरण मागेको हो।
पछिल्लो समय आकाश गोल्छा पक्ष नाडाका अध्यक्ष करण चौधरीले आफूलाई वरिष्ठ उपाध्यक्षबाट सदस्यमा घटुवा गरेको र नाडाका कामकारबाहीमा समेत व्यक्तिगत तरिकाले गर्ने गरेको भन्दै असन्तुष्ट छन्। त्यही असन्तुष्टि पोख्दै आकाश पक्षका सुनिल रिजालले सार्वजनिक रुपमा अध्यक्ष चौधरीविरुद्ध अभिव्यक्ति दिएका थिए।
यसैलाई आधार बनाएर नाडाले केन्द्रिय कार्यसमिति सदस्यहरु आकाश गोल्छा, सुनिल रिजाल, प्रदिपमान प्रधान र सन्जय खेतानसँग लिखित स्पष्टीकरण मागेको हो। खेतन, गोल्छा र प्रधानलाई रिजालले दिएको अभिव्यक्तिमा साथ दिएको आरोप लगाइएको छ।
नाडाले आकाश गोल्छा र सुनिल रिजाललाई केन्द्रिय कार्यसमिति सदस्यबाट हटाउने चेतावनी दिएको छ। यसका लागि केन्द्रिय कार्यसमिति सदस्यबाट किन नहटाउने भन्नेबारे स्पष्टीकरण दिन पनि भनिएको छ।
यस्तै, अन्य प्रदिपमान प्रधान र सन्जय खेतानलाई ६ महिनाको लागि निलम्बन गर्ने चेतावनी दिइएको छ। उनीहरुलाई पनि केन्द्रिय कार्यसमिति सदस्यबाट ६ महिनाको लागि निलम्बन किन नगर्ने भन्दै जवाफ पेस गर्न भनिएको छ।