
वीरगंज (पर्सा)। वीरगंज नाका हुँदै चालु आर्थिक वर्षको ११ महिनामा ५ खर्ब ६५ अर्ब ४५ करोड मूल्य पर्ने वस्तु तथा सामान आयात भएका छन्। आव २०८०/८१ को ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै आयातको हिस्सा १४.४४ प्रतिशत अर्थात् ७१ अर्ब ३६ करोड बढीका सामान भित्रिएका छन्।
चालु आवको ११ महिनामा यो नाका हुँदै सबैभन्दा बढी आयात हुने वस्तु पेट्रोलियम पदार्थ छ। पाँच थरिका पेट्रोलियम पदार्थमात्रै रु १ खर्ब ७४ अर्ब नौ करोड रुपैयाँको भित्रिएको वीरगंज भन्सार कार्यालयले जनाएको छ। यो नाका हुँदै दोस्रो धेरै आयात हुने वस्तुमा भने भटमासको कच्चा तेल छ। जसको हिस्सा रु ५२ अर्ब ५८ करोडको छ।
वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार चालु आवको ११ महिनामा आयात र निर्यात दुवै सन्तोषजनक छ। ‘चालु आर्थिकको ११ महिनामा आयात र निर्यात दुवैमा वृद्धि भएको देखिन्छ,’ उनले भने, ‘बजेटले उत्साह जगाएको पनि सो सम्भव भएको हो।’ उक्त अवधिमा रु ३३ अर्ब १९ करोड मूल्यका मेसिनरी तथा तिनका पार्टपुर्जा आयात भएका छन्।
त्यस्तै रु ३१ अर्ब ३९ करोड मूल्य पर्ने फलाम तथा फलामबाट बनेका सामान आयात भएका छन्। सोही अवधिमा रु २६ अर्ब २३ लाख मूल्य पर्ने सबै प्रकारका एलोपेथिक औषधि भित्रिएका छन्। चालु आवको ११ महिनामा आयात मात्रै नभएर यो नाका हुँदै हुने निर्यातमा पनि उल्लेखीय वृद्धि भएको देखिन्छ।
चालु आवको ११ महिनामा रु ९१ अर्ब ५१ करोड मूल्य बराबरका वस्तु तथा सामान यो नाका हुँदै विदेशी मुलुकमा निर्यात भएको देखिन्छ। जबकी गत आवको ११ महिनाको अवधिमा भने यो नाका हुँदै रु २८ अर्ब ४४ करोड मूल्य बराबरको वस्तु तथा सामान विदेशी मुलुकमा पुगेको थियो। गत आवको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने २२१.७७ प्रतिशत अर्थात् रु ६३ अर्ब ७ करोडभन्दा बढीको निर्यात भएको हो।
चालु आवको ११ महिनामा यो नाका हुँदै सबैभन्दा धेरै निर्यात हुने वस्तुमा भटमासको तेल छ। रु ५५ अर्ब ३ करोड मूल्य पर्ने रु २५ करोड ८८ लाख १४ हजार ७३२ लिटर भटमासको प्रशोधित तेल निर्यात भएको छ। जबकी गत आवको सोही अवधिमा भने रु ८ करोड ८३ लाख मूल्य पर्ने ४ लाख ६४ हजार १३८ लिटर मात्रै निर्यात भएको थियो।
चालु आवको ११ महिनामा ८ अर्ब ४० करोड मूल्य पर्ने ३ करोड ८८ लाख ९५ हजार ३३९ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ। गत आवको सोही अवधिमा त्यस्तो तेल ९ करोड ९४ लाख रुपैयाँ मूल्य पर्ने ५ लाख २७ हजार २९१ लिटर निर्यात भएको थियो। रासस