ब्रोकर कम्पनीले गरे आइपीओ निष्कासन गर्न पाउनुपर्ने माग, सेबोनलाई दिए १६ बुँदे सुझाव

बिजमाण्डू
२०८२ असार ६ गते १८:२९ | Jun 20, 2025
ब्रोकर कम्पनीले गरे आइपीओ निष्कासन गर्न पाउनुपर्ने माग,  सेबोनलाई दिए १६ बुँदे सुझाव
फाइल तस्वीर

काठमाडौं। स्टक ब्रोकर्स एसोसियसन अफ नेपालले नेपाल धितोपत्र बोर्ड (सेबोन)लाई बजारको सुधारका लागि १६ बुँदे सुझाव दिएको छ।

Tata
GBIME

एसोसिएसनले लगानीकर्ताहरूलाई आवश्यक पर्ने सेवा एकद्वार प्रणालीबाट प्रवाह गरी धितोपत्र दलाली सेवा अन्तर्राष्ट्रिय स्तरको बनाउन सुझाव दिएको छ।

यस्तै धितोपत्रको दोस्रो बजारमा लगानीकर्ताहरूको प्रवेश सहज गराउन, धितोपत्र बजारप्रति विश्वसनियता वृद्धि गर्न धितोपत्र दलाल व्यवसायीहरूको कार्यक्षेत्र विस्तार गरी लगानी व्यवस्थापन तथा लगानी परामर्श सेवा प्रवाहको अनुमति प्रदान गर्न र मार्जिन ट्रेडिङलाई पूर्ण कार्यान्वयनमा ल्याउनका लागि सहजीकरण गर्ने एसोसिएसनले माग गरेको छ।

एसोसिएसनले प्रत्यक्ष भौतिक उपस्थितिविना अनलाइन वा भिडियो केवाइसीमार्फत नयाँ लगानीकर्ताहरूको पहिचान स्थापित गरी डिम्याट र कारोबार खाता खोल्न, मेरो सेयर र अनलाइन कारोबार सेवा उपलब्ध गराउन सक्ने कानुनी व्यवस्था गर्न सुझाव दिएको छ।

सेबोनले आगामी आर्थिक वर्षको धितोपत्र तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रमका लागि सुझाव मागेको थियो।

ब्रोकरहरुले यथाशीघ्र इन्ट्राडे ट्रेडिङ, सेक्युरिटीज लेन्डिङ एन्ड बरोइङ इक्विटीमा आधारित फ्युचर्स र अप्सन जस्ता डेरिभेटिभ्स तथा राइट्सको कारोबारको व्यवस्था गर्न माग गरेका छन्।

ऋणपत्रको दोस्रो बजार कारोबारलाई सरकारी बचतपत्रको कारोबारसरह संस्थागत ऋणपत्रहरूको कारोबारमा पनि बिक्रेताले प्राप्त गर्ने ब्याज हिसाब गरी बिक्रीको भुक्तान प्राप्त गर्दाको बखत नै प्राप्त गर्ने व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ।

लगानीकर्ताले धितोपत्र दलाल व्यवसायीहरूलाई अख्तियारीनामा दिन सक्ने कानुनी व्यवस्था गर्नुपर्ने तथा बिक्रीमा अनावश्यक क्लोजआउटबाट लगानीकर्तालाई परेको आर्थिक हानीलाई निराकरण गर्न यथाशीघ्र अक्सन मार्केट सुरु गर्नुपर्ने ब्रोकरहरुको सुझाव छ।

सूचीकृत संस्था तथा धितोपत्र दलाल व्यवसायीहरूबाट कुनै नियम वा प्रक्रिया परिपालना नभएको अवस्थामा सूचीकृत संस्थाको कारोबार वा व्यवसायीको कारोबारलाई निलम्बन गर्दा लगानीकर्ताविना कारण मारमा पर्ने हुँदा वित्तीय कारबाहीको व्यवस्था गर्न एसोसिएसनले सुझाव दिएको छ।

खरिदबापत भुक्तानी गर्नुपर्ने रकम तथा बिक्रीबापत धितोपत्र समयभित्रै जानाजान हस्तान्तरण नगर्ने लगानीकर्तालाई धितोपत्र कारोबार गर्न नपाउने गरी कालोसूचीमा राख्ने र कानुनी कारबाही हुने व्यवस्था मिलाउन भनिएको छ।

भित्री कारोबार, सर्कुलर कारोबार, पम्प एन्ड डम्प जस्ता अवाञ्छित गतिविधि निगरानीका लागि यस्ता कारोबारी, सूचीकृत संस्थाका सेयरधनी, सञ्चालक, कर्मचारी, उनीहरुका परिवारका सदस्य, नातागोता सबैको विवरणको सूची बनाई सम्पूर्ण व्यवसायीले प्रयोग गर्ने कारोबार प्रणालीमा देखिने व्यवस्था गर्न पनि एसोसिएसनले सुझाव दिएको छ।

गैरआवासीय नेपाली तथा विदेशी संस्थागत लगानीकर्तालाई दोस्रो बजार कारोबारमा सहभागी गराउने र बिक्री र लाभको रकम लैजाने प्रक्रियालाई सहज गर्न पनि माग गरिएको छ।

बजारमा अवाञ्छित गतिविधिलाई नियन्त्रण गर्न बजारसँग प्रत्यक्ष सम्बन्धित रहेर सञ्चालनमा रहेका सामाजिक सञ्जाल पेजको नियमन गर्ने कानुनी व्यवस्था गर्न, सेबोन वा नेप्सेबाट प्रमाणपत्र प्राप्त विश्लेषकले मात्र सार्वजनिकरुपमा धितोपत्र बजारको मूल्य प्रक्षेपण गर्न पाउने व्यवस्था गर्नुपर्ने माग पनि एसोसिएसनले गरेको छ।

एसोसिएसनको सुझावपत्रमा ब्रोकर प्रोप्राइटरी ट्रेड खुलाउने तथा दलाल व्यवसायी कम्पनीहरूले सर्वसाधारणमा सेयर जारी गर्न पाउने कानुनी व्यवस्था गर्न पनि भनिएको छ।