
काठमाडौं। ‘क्यानडा र युके पठाइदिन्छु’ भन्दै ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-११ बस्ने कपिलवस्तुको शिवराज नगरपालिका-५ घर भएकी ३५ वर्षीया दीपा शर्मा र झापाको भद्रपुर नगरपालिका-४ घर भएका २७ वर्षीय व्रिजेश सुवेदी रहेका छन्।
शर्माले क्यानडा पठाइदिने भन्दै १ जनाबाट २३ लाख ५० हजार रूपैयाँ लिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। त्यस्तै, सुवेदीले युके पठाइदिने भन्दै १ जनाबाट २ लाख ५० हजार रूपैयाँ लिएर सम्पर्कविहीन भएका थिए।
पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शर्मालाई बुढानिलकण्ठ नगरपालिका-११ बाट शनिबार र सुवेदीलाई काठमाडौं महानगरपालिका-१२ बाट आइतबार पक्राउ गरेको हो।
शर्मालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं र सुवेदीलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।