बागमती प्रदेशको भौतिक पूर्वाधारका लागि २५ अर्ब बजेट विनियोजन, पूर्वाधार प्रयोगशाला निर्माण हुने

बिजमाण्डू
२०८२ असार १ गते २३:०२ | Jun 15, 2025
बागमती प्रदेशको भौतिक पूर्वाधारका लागि २५ अर्ब बजेट विनियोजन, पूर्वाधार प्रयोगशाला निर्माण हुने
फाइल फोटो

काठमाडौं। बागमती प्रदेश सरकारले भौतिक पूर्वाधार मन्त्रालयलाई २४ अर्ब ८० करोड १९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। आइतबार प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले सभामा बजेट प्रस्तुत गर्दै मन्त्रालयलाई २४ अर्ब ८० करोड १९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताए।

Tata
GBIME

सहरी पूर्वाधार, प्रादेशिक सडक यातायात गुरु योजनालाई आवश्यकता र प्राथमिकताका आधारमा परिमार्जन गर्ने काफ्लेले बताए। प्रदेशले सबैभन्दा धेरै स्थानीय तह, केन्द्र तथा उदयमान बजार केन्द्र जोड्ने प्रादेशिक सडक यातायात गुरुयोजना, सडक, प्रादेशिक लोकमार्ग र अन्य महत्त्वपूर्ण सडकको विस्तार गर्न १४ अर्ब ६३ करोड विनियोजन गरेको छ।

यसैगरी दिगो आर्थिक वृद्धिका लागि भौतिक पूर्वाधार क्षेत्रमा सार्वजनिक तथा निजी लगानी प्रवर्द्धन गरिने भएको छ। एकीकृत बस्ती विकास गुरुयोजना तर्जुमा गरी सहर र स्थानीय तहका केन्द्रहरूमा व्यवस्थित सहरी पूर्वाधार निर्माणका लागि पनि बागमती सरकारले बजेट विनियोजन गरेको छ।

यस्तै नियमित मर्मत, सम्भार, दिगो सडकको आधार अन्तर्गत बागमती प्रदेश सरकारबाट निर्मित सडक तथा पुलहरूको नियमित मर्मत सम्भार गर्ने कार्यलाई निरन्तरता दिँदै विपदबाट क्षति पुगेका सडक पूर्वाधारको मर्मत र पुनर्स्थापना कार्यलाई पनि अगाडि बढाउन बजेट छुटाइएको काफ्लेले बताए। गुणस्तरीय पूर्वाधारको निर्माणका लागि पूर्वाधार प्रयोगशाला निर्माण गरिने भएको छ।

प्रदेशभित्रका सडक, सडक पुलहरू, झोलुङ्गे पुलहरूको निर्माण तथा स्तरोन्नति कार्यक्रमहरूलाई निरन्तरता दिइएको छ। आगामी आर्थिक वर्षमा बागमती प्रदेशमा सडकका नयाँ ट्र्याक खोल्ने कार्यलाई निरुत्साहित गर्ने भएको छ। स्थानीय मौलिक र वास्तुकलाको संरक्षणमा जोड दिँदै भवन निर्माण क्षेत्रलाई व्यवस्थित बनाउन प्रदेश सरकारबाट निर्माण हुने सम्पूर्ण सरकारी भवन एकद्वार प्रणालीबाट निर्माण गरिने भएको छ।

प्रदेश सरकारबाट निर्माणाधीन अधुरा भवन प्राथमिकताका आधारमा निर्माण सम्पन्न गरी प्रयोगमा ल्याउने पनि बजेट वक्तव्यमा उल्लेख छ।