नेपाल टेलिकममा संगीता निलम्बनमा परेपछि मास्केले पाइन् निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी

बिजमाण्डू
२०८२ जेठ २८ गते १७:२९ | Jun 11, 2025
नेपाल टेलिकममा संगीता निलम्बनमा परेपछि मास्केले पाइन् निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी

काठमाडौं। सरकारले नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सबिना मास्केलाई दिएको छ।

Tata
GBIME

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार मास्केलाई निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिने निर्णय गरेका हुन्। मन्त्रीको निर्णय अनुसार मास्केले बुधबार नै प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालेकी छन्।

मास्के टेलिकममा नायब प्रबन्ध निर्देशकको रुपमा कार्यरत थिइन्। उनी टेलिकमकी प्रमुख प्राविधिक अधिकृत हुन्।

प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल भ्रष्टाचार मुद्दाका कारण जेठ २५ गते निलम्बनमा परेपछि मन्त्री गुरुङले मास्केलाई निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिएका हुन्।

संगीतासँगै मास्केका पति अमूल प्रधान पनि बिलिङ मर्मतको ठेक्कामा भ्रष्टाचार मुद्दा दायर गरिएपछि निलम्बनमा परेका थिए।

मास्केले चीनको डालियान मेरीटाइम युनिभर्सिटीबाट बीई गरेकी छन्। २०४९ माघ २५ गते तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिइ २०५१ फागुन १० मा स्थायी नियुक्ति पाएकी मास्के २०७८ माघ १८ गते नायव प्रबन्ध निर्देशक पदमा बढुवा भएकी थिइन्।

निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्ने क्रममा मास्केले कम्पनीको प्रगतिका लागि काम गर्ने प्रतिबद्धता जनाएकी छन्।