सिटिजन्स बैंकले संचालनमा ल्यायो एपीआई बैंकिङ प्लेटफर्म ‘र्‍यापिड’, कारोबार सहज हुने

बिजमाण्डू
२०८२ जेठ २२ गते १४:१० | Jun 5, 2025
सिटिजन्स बैंकले संचालनमा ल्यायो एपीआई बैंकिङ प्लेटफर्म ‘र्‍यापिड’, कारोबार सहज हुने

काठमाडौं । सिटिजन्स बैंकले नेपालमा गोकियो ल्याब्स प्रा. लि. सँगको सहकार्यमा व्यवसायिक बैंकिङलाई सरल, छिटो र सुरक्षित बनाउन डिजाइन गरिएको एपीआई बैंकिङ प्लेटफर्म ‘र्‍यापिड’ संचालनमा ल्याएको छ।

Tata
GBIME

प्रथम चरणमा यो सेवा अन्तर्गत व्यवसायिक ग्राहकको सहमतिमा र्‍यापिङले ग्राहकहरुको इआरपी प्रणालीलाई बैंक खातासँग प्रत्यऊ रुपमा जोड्नेछ। यसले गर्दा इआरपी भित्रैबाट वास्तविक समयमा ब्यालेन्स चेक र स्टेटमेन्ट हेर्न सकिने बैंकले जनाएको छ।

दोस्रो चरणमा र्‍यापिड विश्वव्यापी मापदण्ड आइएसओ२००२२ तथा एमएफए र ओअथ२ जस्ता प्रविधिहरु प्रयोग गरेर भुक्तानी प्रारम्भ गर्ने सुरक्षित एपीआई उपलब्ध गराउनेछ। यसमा भुक्तानी स्वीकृतिका लागि हस्ताक्षरकर्ता एकल वा बहु हस्ताक्षर परिभाषित गर्न सकिने, क्यूआर कोड र कार्डमार्फ गरिएका कारोबारहरुको सेटलमेन्ट डेटाको विस्तृत भुक्तानी विवरण प्राप्त गर्न सकिने, कर्मचारीहरुको तलब भुक्तानीलाई छिटो प्रभावकारी र स्वचालित गराउन सकिने, एउटा खाताबाट अर्को खातामा रकमान्तर तथा अन्तर बैंक रकमान्तर सहज र सुरक्षित तरिकाले गराउन, अनलाइन खाता खोल्न सकिनेछ।

र्‍यापिडले व्यवसायिक प्रयोगकर्ताहरुलाई ओअथ२ मार्फत सुरक्षित डिजिटल सहमतिमा पूर्व नियन्त्रण दिने बैंकले जनाएको छ। प्रत्येक महत्वपूर्ण कार्यका लागि प्रयोग हुने पासकोड टीओटीपी को माध्यमबाट यसले थप सुरक्षा दिने जनाइएको छ।

आधुनिक प्रविधिको प्रयोग गरेर पीकेआईमार्फत सबै डेटाहरु इन्क्रिप्ट गरिने पनि बैंकले जनाएको छ।

यो सेवाले व्यवसायिक ग्राहकहरुको बैंकिङ कारोबार सहज हुने विश्वास बैंकको छ।