विष्णु पौडेलका १५ घोषणाले सांसद मख्ख, कस्ता कार्यक्रम रुचाए?

प्रकाश भण्डारी
२०८२ जेठ १५ गते २२:०८ | May 29, 2025
विष्णु पौडेलका १५ घोषणाले सांसद मख्ख, कस्ता कार्यक्रम रुचाए?


काठमाडौं। संसदमा अर्थमन्त्री विष्णु पौडेलले २ घण्टा १० मिनेट बजेट वाचन गरे। सांसदहरूले रुचिपूर्वक सुने। नेपाली कांग्रेस र नेकपा (एमाले) को संयुक्त सरकारको बजेटमा सांसद भने दुई कित्तामा देखिए। एमालेका सांसदले जोडले टेबुल ठोके, कांग्रेसका केहीले मात्रै एमालेलाई साथ दिए। त्यो पनि बिस्तारै बजाएर। बजेट भाषणका क्रममा १५ वटा घोषणामा मात्रै सांसदले ढ्यापढ्याप पारे। सांसदले रुचाएका कार्यक्रम कस्ता छन् त?

Tata
GBIME

१. सहकारी सञ्चालकको राहदानी रोक्का

बजेटको ६१ नम्बर बुँदामा रहेको सहकारी रकम अपचलनमा सञ्चालकको राहदानी रोक्का गरिने व्यवस्था वाचन गरेपछि सांसदहरू दंग परेका थिए। ‘समस्याग्रस्त सहकारीका सञ्चालक, पदाधिकारी र कर्जा अपचलनकर्ताको सम्पत्ति एवम् राहदानी रोक्का गरिनेछ,’ पौडेलको घोषणामा सांसदहरूले साथ दिए।

२ जेन-जीलाई उद्यमशीलता

काम खोज्ने जनशक्ति मात्रै नभई  काम दिने युवाको सङ्ख्या वृद्धि गर्ने, नवप्रवर्तनमा आधारित स्टार्टअप उद्यमशीलता प्रवर्द्धन गरिने व्यवस्था बजेटमा गरिएको छ। जेन-जीलाई टार्गेट गरेर उद्यमशीलताको कुरा आएपछि सांसदहरू खुसी भएका थिए। ‘जेन-जी पुस्तालाई उद्यमशील र व्यावसायिक बनाउन सरकार, विश्वविद्यालय र निजी क्षेत्रसँगको सहकार्यमा इन्कुवेशन सेन्टर सञ्चालन गरिनेछ,’ अर्थमन्त्रीको घोषणा गर्दै भनेका थिए। 

३.भगत सर्वजित कार्यक्रम

दलित समुदायको परम्परागत सीप, कला र पेसाको संरक्षण गर्ने, रोजगारी र आय आर्जनका अवसर सिर्जना गर्ने लगायतका घोषणा बजेटमा छन्।  ‘भगत सर्वजित उद्यमशीलता विकास कार्यक्रम’ सञ्चालन गरिनेछ भन्ने घोषणलाई सांसदहरूले स्वागत गरे। आधुनिक प्रविधिको प्रयोग गरी सुन, चाँदी, काँस, तामा, फलाम, छाला, काठ, पत्थर लगायतका सामग्री उत्पादन र बजारीकरण गरिने पनि बजेटमा व्यवस्था छ।

४.बुटिक विमानस्थल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार गर्ने तथा बुटिक विमानस्थलमा विकास गर्न ४ अर्ब १५  करोड बजेट छुट्टाइएको छ। विमानस्थल सम्बन्धी बजेटका विभिन्न व्यवस्थामा पनि सांसदहरूले टेबल ठोकेर साथ दिए। ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटकीय हबमा विकास गरिनेछ,’ बजेटमा उल्लेख छ।

५. प्लास्टिक बन्द

बजेटमार्फत सरकारले प्लास्टिकजन्य सामाग्रीको विक्री वितरणमा रोक लगाउने घोषणा गरेको छ। मंसिर १ देखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिक उत्पादन गर्ने पाइने छैन। ‘हाल सञ्चालित उद्योगमा यस अनुरूपको गुणस्तर वृद्धि गर्न डाइ प्रतिस्थापनका लागि पुँजीगत अनुदान दिने व्यवस्था मिलाएको छु,’ पौडेलले भनेका थिए।

६. विद्यालय गाभ्ने

सरकारले विद्यार्थी र शिक्षकको अनुपातका आधारमा विद्यालय गाभ्ने भएको छ। विभिन्न मापदण्ड बनाएर उक्त नीति लागू गरिने बजेट भाषणमा पौडेलले उल्लेख गरे। ‘शिक्षक र विद्यार्थी सङ्ख्या तथा भौगोलिक दूरी र यातायात सुविधाका आधारमा विद्यालयको पुन:नक्साङ्कन गरिनेछ। नक्साङ्कनका आधारमा विद्यालय गाभ्ने नीति लिइनेछ। गाभिएका विद्यालयहरूका लागि प्रोत्साहन अनुदानको व्यवस्था गरेको छु,’ पौडेलले भनेका थिए।

शिक्षक दरबन्दीको पुनरावलोकन गरिने, शिक्षकको क्षमता विकास गर्न आवधिक रूपमा तालिमको प्रबन्ध गरिने पनि उल्लेख छ।

७. प्याड वितरणमा निरन्तरता

सरकारले बजेटमार्फत विद्यालयमा स्यानिटरी प्याड वितरणलाई निरन्तरता दिएको छ। त्यसका लागि १ अर्ब २९ करोड बजेटको व्यवस्था छ। पौडेलले प्याडको विषय वाचन गरेपछि सांसदहरूले टेबल ठोकेका थिए। ‘यसबाट १३ लाख छात्रा लाभान्वित हुनेछन्,’ उनले भने।

८.एमबीबीएस पढ्न २ अर्ब ४४ करोड छात्रवृत्ति

पौडेलले सीमान्तकृत समुदायका विद्यार्थीलाई चिकित्सातर्फ उच्च शिक्षामा छात्रवृत्ति दिने घोषणा गरे। ‘विकट हिमाली जिल्लाका विद्यार्थीलाई प्रदान गरिँदै आएको छात्रवृत्तिलाई निरन्तरता दिइनेछ। मुसहर, डोम र चमार समुदायका विद्यार्थीलाई चिकित्सातर्फको उच्च शिक्षामा उत्प्रेरणा छात्रवृत्ति प्रदान गरिनेछ,’ उनले भने। छात्रवृत्तिका लागि २ अर्ब  ४४ करोड विनियोजन गरिएको छ।

९. निर्माणाधीन विद्यालय सम्पन्न गर्ने

सांसदहरू दंग परेको बजेटको अर्को घोषणा हो – निर्माणाधीन नमुना विद्यालयहरूको निर्माण कार्य सम्पन्न गरिने। ‘विद्यालयको भौतिक पूर्वाधार निर्माणको लागि पुँजीगत अनुदान उपलब्ध गराइनेछ। यसका लागि २ अर्ब ७२ करोड विनियोजन गरेको छु,’ पौडेलले भनेका थिए।

१० क्यालेन्डर पालन नगरे अनुदान रोक्का

सरकारले क्यालेन्डर पालना नगर्ने विश्वविद्यालयलाई अनुदान बापतको रकम नदिने घोषणा गरेको छ। विश्वविद्यालय लथालिङ्ग हुन थालेपछि पौडेलले यसमा कडाइ गर्दै भने, ‘शैक्षिक सत्र अगावै शैक्षिक क्यालेन्डर प्रकाशित गर्ने, कार्यान्वयनको अनुगमन गर्ने र सो को पालना नगर्ने विश्वविद्यालयको अनुदान रोक्ने व्यवस्था गरिनेछ।’

११. कमाउँदै पढ्ने

बजेटको १७० नम्बर बुँदाले पनि सांसदहरूलाई खुसी बनाएको थियो। 

सेवाको प्रकृतिका आधारमा सार्वजनिक निकायमा इन्टर्नलाई परिचालन गरिने पौडेलले बजेट मार्फत घोषणा गरेका छन्। ‘उद्यमशीलता मैत्री शिक्षालाई प्रोत्साहन गर्न हप्तामा २० घण्टा कामको न्यूनतम ज्यालासहित कमाउँदै पढ्दै कार्यक्रम सञ्चालन गरिनेछ,’ उनले भने।

१२. बिना धितो २० लाखसम्म ऋण

शिक्षित युवालाई उद्यमशील र स्वरोजगार बनाउन शैक्षिक योग्यता, व्यवसाय दर्ता, सीप परीक्षणको प्रमाणपत्र र परियोजना प्रस्तावको आधारमा सरकारले विना धितो ऋणको व्यवस्था गर्ने भएको छ।  ‘दुई लाखदेखि बीस लाखसम्म तीन प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराइनेछ,’ बजेटको यो व्यवस्थामा पनि सांसदहरू दंग परे।

१३. महिलाको नाममा निःशुल्क उद्योग दर्ता

सरकारले महिलालाई उद्यमशीलता उत्प्रेरित गर्न निःशुल्क उद्योग दर्ताको घोषणा गरेको छ। बजेट भाषणका क्रममा पौडेलले ‘महिलाको नाममा उद्योग, व्यवसाय वा कम्पनी दर्ता वा नवीकरण गर्दा शुल्क नलाग्ने व्यवस्था गरिने’ बताए। ‘गृहिणी महिलाको श्रम र सीपलाई साना तथा घरेलु उद्यमसँग जोड्न क्षमता विकासका कार्यक्रम सञ्चालन गरिनेछ,’ उनले भने।

१४. स्टार्टअपको आय करमा छुट

पौडेलले दश करोडसम्मको वार्षिक कारोबार गर्ने नयाँ व्यवसायीलाई ५ वर्षसम्म आयकरमा छुट दिने बताए।  ‘स्टार्टअप व्यवसायलाई ५ वर्षसम्म आयकर नलाग्ने व्यवस्था मिलाएको छु,’ पौडेलले घोषणा गरेपछि सांसदहरूले टेबल बजाएका थिए।

१५. पोडवेको सम्भाव्यता अध्ययन

बन्द अवस्थामा रहेको काठमाडौँ-हेटौँडा रोपवेको विकल्पमा नवीन प्रविधिमा आधारित पोडवेको सम्भाव्यता अध्ययन गरिने भएको छ। त्यसका लागि आवश्यक रकम छुट्टाएको पौडेलले बताए। ‘पहाडी तथा हिमाली क्षेत्रमा केबुलकार सञ्चालनलाई प्रोत्साहन गरिनेछ। वीरेठाँटी-मुक्तिनाथ केबलकार निर्माण गर्न निजी क्षेत्रलाई सहजीकरण गरिनेछ,’ उनले भने।