
काठमाडौं। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सगरमाथा क्षेत्रका लागि सरकारले बजेट संशोधन गर्नुपर्ने माग गरेका छन्। मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई दोस्रो पत्र लेख्दै महामन्त्री शर्माले लुक्लादेखी क्याम्प ३ नजिकैसम्म पुग्दा अभावै अभाव देखेको बताएका छन्।
बिहीबार सदनमा प्रस्तुत हुने २०८२/८३ को बजेट अर्थमन्त्री विष्णु पौडेलले तयार पारिसकेका छन्। यद्यपि शर्माले भने सात बुँदे माग अघि सार्दै बजेट सम्पादन हुनेमा आफू विश्वस्त रहेको बताएका छन्।
‘मैले त्यहाँ जे समस्या, अभाव र चुनौती देखें तिनलाई यहाँसमक्ष सारमा पेस गरेको छु। यहाँको अविलम्ब निर्देशनले उल्लेखित कतिपय विषय जेठ १५ मा आउने बजेटमा समेटिने र अन्य विषय सम्बन्धित निकायबाट क्रमशः सम्पादन हुने विश्वास मैले लिएको छु,’ शर्माले पत्रमा भनेका छन्।
उनले भरिया बीमा, व्यावसायिक आरोहीलाई पेन्सनको व्यवस्था गर्न माग गरेका छन्। त्यसै गरी शर्माले बेसक्याम्प क्षेत्रको नेटवर्क नेपाल सरकारको नियन्त्रणमा नरहेको जनाएका छन्।
‘प्रविधिको यो जमानामा प्रकृतिको सुन्दर काख बेसक्याम्पमा सरकारको एक थान सञ्चार टावर छैन। बेसक्याम्प र क्याम्प टु´मा चलाइएका `नेटवर्क´ न सरकारका हुन् न सरकारको पहुँचमा छन्,’ शर्माले भनेका छन्।
यस क्षेत्रमा इन्टरनेटको पहुँच नभएको उल्लेख गर्दै अबको बजेटमा टावर अनिवार्य जोड्नसमेत उनले माग गरेका छन्। सगरमाथाको पिक जोनको समय चीनको नियन्त्रणमा देखिएकोले नेपाली प्रविधिको दायरा बलियो बनाउनसमेत उनले सुझाएका छन्।
त्यसै गरी शर्माले बेसक्याम्प क्षेत्रमा सरकार नै नभेटिएको बताएका छन्। ‘सगरमाथाको बेसक्याम्पमा ४० बढी देशका मानिस थिए होलान् तर त्यो बीचमा कहीँ केही परे सम्हाल्नका लागि सरकार थिएन,’ पत्रमा शर्माले भनेका छन्।
यसै गरी उनले थुक्लामा यसै वर्ष झोलुङ्गे पुल बनाउनसमेत माग गरेका छन्। ‘गत मंसिरमा लोबुचे हिमाल आरोहण गर्न जाँदा दिङ्बोचे तिरबाट थुक्ला जोड्ने पुल जुन अवस्थामा अलपत्र देखें, अहिले पनि जस्ताको त्यस्तै देखें,’ शर्माले भनेका छन्, ‘त्यहाँका नागरिकको तर्फबाट आग्रह गर्न चाहन्छु, थुक्लामा झोलुङ्गे पुल तत्कालै निर्माणका लागि विशेष दृष्टि पुगोस्।’
महामन्त्री शर्मा गत वैशाख २० गते सगरमाथा आरोहणका लागि लुक्ला पुगेका थिए। मौसम र स्वास्थ्यले साथ नदिएको भन्दै शर्मा क्याम्प ३ नजिकैबाट फर्केका हुन्।