
काठमाडौं। यातायात व्यवसायी र मजदूरले चरणबद्ध आन्दोलन घोषणा गरेका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजानिक यातयात केन्द्रीय महासंघ नेपाल, ट्रक यातायात व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ, नेपाल यातायात मजदुर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र एकीकृत यातयात मजदुर संगठनले मंगलबार पत्रकार सम्मेलन गरी आन्दोलन घोषणा गरेका हुन्।
यातायात व्यवसायीले बुधबार प्रदेशका मुख्यमन्त्रीहरुलाई मागपत्र बुझाउने र १८ गते कालो झन्डासहित प्रदेशमा सवारीसाधनसहित विरोध र्याली निकाल्ने तथा १९ देखि गाडी नचलाउने चेतावनी दिएका छन्।
उनीहरुले ७ बुँदे माग राखेका छन्। १५ वर्ष पुराना निजी गाडी र १० वर्ष पुराना बाइकलाई सार्वजनिक सवारीका रुपमा प्रयोग गर्न पाइने गरी गण्डकी प्रदेश सरकारले जेठ १ गते ल्याएको नयाँ व्यवस्थाप्रति व्यवसायीहरुको आपत्ति छ।
मालवाहक सवारीसाधनको भारवहन क्षमतासम्बन्धी व्यवस्था लागू गरिनुपर्ने, सार्वजनिक यातायात क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष अनिवार्यरुपमा लागू गरिनुपर्ने, बिमा दर निर्देशिका संशोधन गरिनुपर्ने लगायत माग उनीहरुले अगाडि सारेका छन्।