जापानी अटोमेकर निसानको ध्यान हाइब्रिड इभी प्रविधिमा, बजार बढाउन के गर्दैछ?

बिजमाण्डू
२०८२ जेठ १३ गते १५:२३ | May 27, 2025
जापानी अटोमेकर निसानको ध्यान हाइब्रिड इभी प्रविधिमा, बजार बढाउन के गर्दैछ?


योकोसुका (जापान)। सवारी कारोबारमा नोक्सान खेपिरहेको जापानी अटोमेकर कम्पनी निसान नयाँ ‘इ-पावर’ प्रविधिमा भर परेको छ।

Tata
GBIME

यसले ल्याएको प्रविधि एक प्रकारको हाइब्रिड इ-पावर गाडी टोयोटा मोटर कर्प प्रियसजस्तै इलेक्ट्रिक मोटर र पेट्रोल इन्जिन दुवैसँग सुसज्जित हुनेछ। यो प्रियस भन्दा फरक छ किनकि यसले ड्राइभको समयमा मोटर र इन्जिनबीच अगाडि पछाडि स्विच गर्दैन।

यसको अर्थ कार सधैं यसको इभी ब्याट्रीमा चलिरहेको हुन्छ, जसले गर्दा चालकले शान्त र सहज तरिकाले ड्राइभिङ गर्न सक्छन्।

‘गाडीको नवीन प्रविधि ल्याउनेमा निसानको गौरवशाली इतिहास छ, जसले हामीलाई अरु अटोमेकरभन्दा फरक बनाएको छ,’ प्रमुख प्रविधि अधिकृत इइची आकाशीले टोकियो बाहिर ग्रान्डड्राइभ कोर्समा नयाँ गाडीको परीक्षण ड्राइभका क्रममा पत्रकारहरूसँग भने।

इ-पावर सवारीसाधनहरूको फाइदा यो हो कि तिनीहरूलाई इभीहरू जसरी चार्ज गर्नु पर्दैन। चालकले  केवल पेट्रोल पम्पमा इन्धन भर्छ र कारको चार्ज कहिल्यै सकिँदैन।

मार्चसम्मको आर्थिक वर्षमा ४.५ अर्ब डलरको घाटा व्यहोरेको निसान मोटर कर्पोरेसनलाई विशेषगरि उत्तर अमेरिकी बजारमा एक राम्रो बिक्रेताको आवश्यकता छ। तर, राष्ट्रपति डोनाल्ड ट्रम्पको कर नीतिका कारण अमेरिकी बजारमा कारोबार सबै जापानी अटोमेकरहरूका लागि टाउको दुखाइ भइरहेको छ।

आफ्नो स्थितिमा सुधार ल्याउन निसान लागत घटाउने, व्यावसायिक साझेदारीलाई सुदृढ पार्ने र उत्पादनको लाइनअपलाई पुन: सुदृढ पार्ने काम गरिरहेको छ।

योकोहामास्थित निसानले चालु महिनाको सुरुमा घोषणा गरेको थियो कि नयाँ प्रमुख कार्यकारी इभान एस्पिनोसाको नेतृत्वमा रहेको महत्त्वाकांक्षी योजनाअन्तर्गत आफ्नो विश्वव्यापी जनशक्तिको करिब १५ प्रतिशत (लगभग २० हजार) कर्मचारी कटौती गर्दैछ। आफ्नो अटो प्लान्टहरूको संख्या १७ बाट १० मा घटाउँदैछ।

निसानका अधिकारीहरूले बजारमा ल्याउन लागेको इ-पावर मोडलहरूको मूल्य भने सार्वजनिक गरेका छैनन्। यस्तै प्रविधि ल्याउने अर्को अटोमेकर मात्र ‘केई’ हो, अर्थात् सानो कार निर्माता सुजुकी मोटर कर्प।

युरोपमा निसान कश्काई र एक्स-ट्रेल मोडेल र जापानमा नोटमा इ-पावर पहिले नै उपलब्ध छ। अपग्रेड गरिएको संस्करणको बजार लक्ष्य अमेरिका हो।

२०१० मा बिक्री सुरु भएको लीफको साथ इभीमा अग्रणी निसानले पनि थप परिष्कृत इभी मोडलहरू तयार गरिरहेको छ। यसले भरपर्दो तथा शक्तिशाली नयाँ ब्याट्रीका लागि पनि काम गरिरहेको छ, जसले हाल हाइब्रिड, इभी र इ-पावर मोडलहरूमा व्यापक रूपमा प्रयोग हुने लिथियम-आयन ब्याट्रीहरूलाई प्रतिस्थापन गर्ने अपेक्षा गरिएको छ।

विश्लेषकहरू भन्छन् – निसान आर्थिक संकटको जोखिममा छ र उसलाई साझेदार चाहिन्छ। योकोहामाको मुख्यालय भवन बिक्री हुने वा जापानको एउटा प्लान्ट क्यासिनोमा परिणत हुने अनुमान व्यापक छ। निसानले गत वर्ष प्रतिद्वन्द्वी होन्डा मोटर कम्पनीसँग व्यापारिक एकीकरणको लागि वार्ता सुरु गरेको थियो। तर, फेब्रुअरीमा वार्ता रद्द गर्ने घोषणा गरेको थियो। (एपी)