स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई छैटौं पटक ‘थ्री ए’ रेटिङ, जोखिम व्यवस्थापन र सम्पत्ति गुणस्तरमा बलियो

बिजमाण्डू
२०८२ जेठ १३ गते ११:३४ | May 27, 2025
स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई छैटौं पटक ‘थ्री ए’ रेटिङ, जोखिम व्यवस्थापन र सम्पत्ति गुणस्तरमा बलियो

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडलाई क्रेडिट रेटिङ संस्था आइसीआरए नेपालले छैटौंपटक पनि ‘थ्री ए’ रेटिङ दिएको छ। यो रेटिङ वित्तीय दायित्वहरु समयमै पुरा गर्न अत्यन्त उच्च सुरक्षाको सूचक हो, जसमा लगानीकर्ताको जोखिम न्यूनतम मानिन्छ।

Tata
GBIME

आइसीआरए नेपालले जारी गरेको विश्लेषणमा बैंकको पुँजी स्थिति, जोखिम व्यवस्थापन क्षमता तथा सम्पत्ति गुणस्तरमा देखिएको मजबुती रिटिङ पुनः पुष्टि गर्ने मुख्य कारणहरु रहेको बैंकले जनाएको छ। चालु वर्षको मध्य अप्रिलसम्म बैंकको पूँजी पर्याप्तता अनुपात (सीआरएआर) १७.४४ प्रतिशत र टियर–१ पूँजी १५.१५ प्रतिशत रहेको छ। यो नियामक निकाय नेपाल राष्ट्र बैंकको न्यूनतम मापदण्ड ११ र ८.५ प्रतिशतभन्दा उच्च हो।

बैंकको नन–पर्फर्मिङ लोन (एनपीएल) १.४४ प्रतिशत मात्र रहेको छ, जुन ‘क’ वर्गको बैंक औसत ५.०५ प्रतिशतभन्दा निकै न्यून छ। यस्ता संकेतहरूले बैंकको उधार प्रणाली, जोखिम नियन्त्रण अभ्यास र प्रतिस्पर्धी ब्याजदर प्रस्ताव गर्ने क्षमतामा मजबुती रिपोर्टमार्फत देखिएको बैंकले जनाएको छ।

बैंकका सीईओ तथा हेड अफ कभरेज गोरख राणाले भने, ‘छैटौं पटक पनि एएए रेटिङ प्राप्त गर्नु हाम्रो सेवाप्रतिको निरन्तर प्रतिबद्धता र विश्वसनीयताको प्रतिविम्ब हो। यसमा ग्राहक, लगानीकर्ता र हाम्रा समर्पित कर्मचारीहरूको योगदान अमूल्य छ।’

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालमा झण्डै ७० प्रतिशत स्वामित्व स्ट्यान्डर्ड चार्टर्ड ग्रुपको रहेको छ। बैंक नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत छ र हाल देशभर सबैभन्दा कम लागतमा निक्षेप संकलन गर्न सफल संस्थाका रूपमा स्थापित छ।