
काठमाडौं। भिजिट भिसाका नाममा भइरहेको मानव तस्करीमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयदेखि गृह मन्त्रालयसम्मै सेटिङ रहेको बाहिरिएपछि गृहमन्त्री रमेश लेखकमाथि राजीनामा दिन दबाब बढेको छ। उनकै पार्टी नेपाली कांग्रेसभित्रैबाट दबाब बढेको हो।
पार्टी सभापति शेरबहादुर देउवानिकट नेताहरुले नै लेखकलाई राजीनामा दिएर निष्पक्ष छानबिनका लागि सहयोग गर्न सुझाव दिएका छन्। लेखक पनि देउवाका विश्वासपात्र हुन्।
आफ्ना विश्वासपात्रलाई राजीनामा दिनका लागि दबाब बढेपछि देउवाले पार्टीका पदाधिकारीको बैठक बोलाएका छन्। बैठक सोमबार बिहान ९ बजे देउवा निवास बुढानीलकण्ठमा बस्ने तय भएको कांग्रेस कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
डा. शेखर कोइराला बाहेकका कांग्रेस नेताहरुले सार्वजनिकरुपमा लेखकको राजीनामा मागेका छैनन्।
यद्यपि भिजिट भिसाका नाममा भइरहेको मानव तस्करीमा ठूलो आर्थिक लेनदेन भइरहेको र यसमा मन्त्री लेखकको सचिवालयका कर्मचारीसमेत जोडिएकाले उनलाई पार्टीले बोक्ने स्थिति नरहेको कांग्रेसका एक पदाधिकारीले बताए। ‘विषय निक्कै गम्भीर रहेकाले उहाँलाई पदमा जोगाइरहन गाह्रो देख्छु। भोलि पदाधिकारी बैठकमा यसबारे छलफल हुन्छ,’ ती पदाधिकारीले भने।
कांग्रेस संस्थापनइतरका नेता डा. कोइरालाले नैतिकताका आधारमा लेखकले राजीनामा दिनुपर्ने बताइसकेका छन्। उनले शनिबार विराटनगर विमानस्थलमा गृहमन्त्रीले राजीनामा दिनु उपयुक्त हुने बताएका थिए।
‘नेपालको संसदीय इतिहासमा यस प्रकारका घटनाहरू भइरहेका छन्, यस्ता घटना हुँदा मन्त्रीहरूले राजीनामा दिएर छानबिन समिति बनाएर अगाडि बढेको तपाईं हामी सबैलाई थाहा छ। यो नौलो कुरा भएन,’ कोइरालाले भनेका थिए।
गृहमन्त्री लेखकले भने मानव तस्करीमा आफ्नो कुनै भूमिका नरहेको दाबी गर्दै आएका छन्। उनले संलग्नता पुष्टि भए राजनीति नै छोड्ने बताएका छन्।
‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको भिजिट भिसाको विषयमा होइन, मेरो सार्वजनिक जीवनमा र राजनीतिक जीवनमा यदि एउटा मात्र पनि आर्थिक अनियमितता प्रमाणित कसैले गर्यो वा भयो भने म पदबाट होइन राजनीतिबाट नै राजीनामा दिने आग्रह गर्दछु,’ शनिबार साँझ लेखकले भने।
अनुसन्धान भएर आरोप पुष्टि भएमा उनलाई कानुनले नै राजनीति गर्न दिंदैन, राजनीति छोड्छु भनिरहनै पर्दैन।
आइतबार विराटनगर पुगेका कांग्रेसका अर्का नेता कृष्णप्रसाद सिटौलाले भने गृहमन्त्री लेखकको बचाउ गरेका छन्। सिटौलाले भिजिट भिसा प्रकरणमा लेखकले राजीनामा दिनुपर्छ भन्ने कुरा उठाए राज्य व्यवस्था नै नचल्ने तर्क गरे। ‘कुनै पनि अड्डा अदालतको वा कुनै पनि कार्यालयको कर्मचारीले गल्ती गर्छ भने उ जवाफदेही हुन्छ, उ जिम्मेवार हुन्छ। त्यस्तो अवस्थामा त्यही कार्यालयको प्रमुखले नै राजीनामा दिनुपर्छ, छोड्नुपर्छ भन्ने कुरा उठायो भने राज्य व्यवस्था चल्दैन,’ सिटौलाले भने।
भिजिट भिसाका नाममा भइरहेको मानव तस्करीबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ। छानबिनका क्रममा दिनमा ५० लाख रुपैयाँभन्दा बढीको लेनदेन हुने गरेको देखिएको अनुसन्धान अधिकृतहरुले बताएका छन्।
यो प्रकरणमा अख्तियारले विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख तीर्थराज भट्टराईसँग सोधपुछ गरी उनको मोबाइल नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ। अध्यागमन कार्यालयका अरू कर्मचारीलाई पनि अख्तियारले अनुसन्धानको राडारमा राखेको छ।
भट्टराई तिनै हुन् जसलाई लेखकले गृह मन्त्रालय सम्हालेको अढाइ महिनापछि विमानस्थल पठाएका थिए। भट्टराईको नेतृत्वमा असुली धन्दा चलेको उजुरी पर्दा बेवास्ता गरेको आरोप लेखकमाथि छ। अख्तियारले अनुसन्धान गरिरहेको सुइँको पाउनासाथ लेखकले गत मंगलबार भट्टराईलाई विमानस्थलबाट मन्त्रालय तानेका थिए।