
काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सुर्खेतस्थित आवाज नेपाललाई सहयोग प्रदान गरेको छ। आवाज नेपाल लामो समयदेखि एकल महिला र बालबालिकाको अधिकार, न्याय, मानव अधिकार, मानव ओसारपसार, द्वन्द्व प्रभावित र घरेलु हिंसा जस्ता विषयमा सशक्तीकरणमा काम गर्दै आएको संस्था हो।
विभिन्न दाताबाट प्राप्त सहयोगमार्फत संचालन भइरहेको यो संस्थाले करिब ४० जना महिला र बालबालिकाहरूलाई सहयोग गरिरहेको छ। सो संस्थालाई बैंकले करिब २ महिनासम्म पुग्ने सरसफाइ तथा उपभोग्य सामग्रीहरू उपलब्ध गराएको छ।
संस्थामा आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग सामाग्रीहरू हस्तान्तरण गरेका हुन्। समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले संस्थालाई बैंकको प्रयासमा सहयोग गर्न पाउँदा खुशी महशुस भएको बताए।
उनले यस्ता संस्थाहरूले एकल महिला र बालबालिकाको अधिकारको हेरचाहका लागि समाजमा उदाहरण बसाइरहेको बताए।
संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएको छ।