
काठमाडौं। आर्थिक लेनदेनमा कमजोर मानिएका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ।
विमानस्थल अध्यागमन कार्यालयका प्रमुख हुँदा पर्यटन भिसामा मानव तस्करसँग सेटिङ मिलाएर रकम लिएको उजुरी परेपछि अख्तियारले बुधार नै भट्टराईलाई नियन्त्रणमा लिएको हो। तर मंगलबार मात्र उनलाई गृह मन्त्रालयले सरुवा गरेर गृहमा ल्याएको थियो।
गृहमन्त्री रमेश लेखकलाई पनि उनको धन्दाको बारेमा केही समय अगाडि नै जानकारी थियो। तर घटनाले ठूलो रुप लिन लागेपछि मात्र उनलाई सरुवा गरिएको थियो।
सरुवा भए लगत्तै अख्तियारको टोलीले अध्यागमन कार्यालयमा छापा मारेको थियो। केही कागजपत्र र डिभाइस नियन्त्रणमा लिएको छ। भट्टराईलाई सोधपुछ गरेर छोडेको छ।
‘सोधपुछको लागि ल्याएको हो। उहाँहरुलाई नियन्त्रणमा राख्ने भन्ने छैन,’ अख्तियारका एक कर्मचारीले भने।
सहसचिव भट्टराई २०७२ सालको भूकम्पमा त्रिपल प्रकरणमा अनुसन्धानमा तानिएका व्यक्ति हुन्। तर अदालतबाट सफाइ पाएपछि उनी पुनः काममा फर्किएका थिए। गएको असोज १३ गते उनी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमन प्रमुख भएर पुगेका थिए।
तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले विमानस्थलबाट मानव सेटिङ हुने भएको देखेपछि कडाइ गरेका थिए। तर भट्टराई पुगेपछि पुनः तस्करी मौलाएको थियो। भट्टराईले कमिसनको रकम नै बढाएको भन्ने अनुसन्धानको क्रममा खुलेको थियो।
कर्मचारीमा जाने कमिसनमा थप १० प्रतिशत बढाएका थिए। त्यो त यसअघि पनि अध्यागमनका कर्मचारीको सेटिङमा काम हुने गरेको थियो। प्रहरीले केही अधिकृतहरुलाई पक्राउ समेत गरेको थियो। अदालतबाट पूर्पक्षको लागि थुनामा समेत पुगेका थिए। प्रहरीले कर्मचारीलाई समातेपछि उनीहरु आन्दोलनमा समेत उत्रिएका थिए।
यसरी तस्करहरुको मिलेमत्तोमा दुबई, युरोपियन देश, खाँडी मुलुक जान युवाहरुले २ लाखदेखि १० लाखसम्म तिर्ने गरेको प्रहरीको अनुसन्धानमा खुलेको थियो। यसरी लिएको रकममध्ये कर्मचारीमा ५० हजारदेखि ३ लाखसम्म हातमा पर्ने गरेको देखिएको छ। उनीहरुले संगठित रुपमा नै रकम बुझेर काम गर्ने गरेका थिए। अख्तियारले अरु कर्मचारीलाई पनि नियन्त्रणमा लिएर सोधपुछ थालेको छ।