
काठमाडौं। बजेटको मुखमा अटो व्यवसायीहरुले विद्युतीय सवारीसाधन (इभी) ठूलो संख्यामा भित्र्याएका छन्। व्यवसायीहरुले वैशाखमा मात्रै विद्युतीय प्यासेन्जर कार, जीप र भ्यान २२ सय ८९ युनिट आयात गरेका हुन्।
सरकारले बजेटमार्फत कर बढाउने तयारी गरेका कारण गाडीको आयात बढाएका अटो व्यवसायीहरुले बताएका छन्। चालु आवमा साउनदेखि वैशाखसम्म प्यासेन्जर कार, जीप र भ्यान १० हजार २५६ युनिट आयात भएका छन्। ती सवारीसाधन २४ अर्ब रुपैयाँ बराबरका हुन्।
यस्तै कमर्सियल इभी १० महिनामा ७ अर्ब ३८ करोड रुपैयाँ बराबरको २५ सय २६ युनिट आयात गरिएको छ।
चालु आवको वैशाखसम्म ३१ अर्ब ३७ करोड रुपैयाँका १२ हजार ७८२ युनिट चार पाङ्ग्रे कार, जीप र भ्यान आयात गरिएको भन्सार विभागको तथ्यांक छ। यसबाट सरकारले १६ अर्ब ४० करोड रुपैयाँ राजस्व संकलन गरेको छ।
१० महिनामा तीन पाङ्ग्रे इभी १५ हजार ३३३ युनिट आयात गरिएको छ। ती इभी १ अर्ब ६० करोड रुपैयाँ बराबरका हुन्। यस्तै दुई पाङ्ग्रे इभी १० महिनामा ९ हजार ५७३ युनिट आयात भएको र ती ९० करोड रुपैयाँ बराबरका भएको विभागले जनाएको छ।
३४ अर्ब बराबरका ३७ हजार २९१ युनिट इभी आयातबाट सरकारले १० महिनामा १६ अर्ब ९० करोड रुपैयाँ राजस्व संकलन गरेको छ।