आगामी ५ वर्ष सीइओका रूपमा टेस्लाको नेतृत्व गर्ने इलन मस्कको प्रतिबद्धता, बढ्यो सेयर मूल्य

बिजमाण्डू
२०८२ जेठ ७ गते ०८:३६ | May 21, 2025
आगामी ५ वर्ष सीइओका रूपमा टेस्लाको नेतृत्व गर्ने इलन मस्कको प्रतिबद्धता, बढ्यो सेयर मूल्य

इलन मस्कले थप ५ वर्ष सीइओका रूपमा टेस्लाको नेतृत्व गर्न आफू प्रतिबद्ध रहेको बताएका छन्। यस घोषणाले टेस्लाप्रति उनको समर्पणमाथि शंका गर्ने केही लगानीकर्ताहरूलाई ढुक्क पारेको छ।

Tata
GBIME

मंगलबार कतारको दोहामा आयोजित कतार इकोनोमिक फोरममा मस्कले टेलिकन्फरेन्समार्फत कम्पनीमा आफ्नो भविष्यबारे बोलेका थिए

कार्यक्रममा उनले डेलावेर चान्सरी कोर्टका एक न्यायाधीशको आलोचना गरे। ती न्यायाधीशले सन् २०१८ मा टेस्लाले उनलाई दिएको तलब प्याकेजलाई दुईपटक खारेज गरेका थिए। यद्यपि, यस मुद्दाले आफ्नो टेस्लामा रहने निर्णयलाई असर गर्ने सम्भावना कम भएको उनले बताए।

‘उत्कृष्ट कामअनुसारको पारिश्रमिक हुनु पर्छ,’ मस्कले भने, ‘तर मलाई विश्वास छ, डेलावेरमा न्यायाधीशको भेषमा रहेका कुनै अभियन्ताले जे गरे पनि त्यसले मेरो भविष्यको पारिश्रमिकमा असर गर्नेछैन।’

मस्क सन् २००८ देखि टेस्लाको सीइओको भूमिकामा छन्। यो अवधि विश्वका ठूला गाडी निर्माता कम्पनीमा कार्यकारीको रूपमा सबैभन्दा लामो सक्रिय कार्यकालहरूमध्ये पर्छ।

यद्यपि, केही वर्षदेखि टेस्लामा उनको सक्रियता र समर्पणमाथि प्रश्न उठ्न थालेका छन्। एक दशकभन्दा बढी समयपछि कम्पनीले पहिलो पटक वार्षिक रूपमा सवारी बिक्रीमा गिरावट व्यहोरेको छ। यस वर्षको सुरुवातमै बिक्री अझै घटेको छ।

मस्कको यस घोषणाले टेस्लाको सेयर मूल्यमा तत्काल प्रभाव पारेको छ। सेयर मूल्य ३.६ प्रतिशतले बढेको छ। यद्यपि, पछि केही गिरावट आयो। यस वर्ष टेस्लाको सेयर मूल्यमा १५ प्रतिशतले गिरावट आइसकेको छ।