राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध भ्रष्टाचारको थप मुद्दा

बिजमाण्डू
२०८२ जेठ ५ गते १४:१० | May 19, 2025
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध भ्रष्टाचारको थप मुद्दा

काठमाडौं। राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध सोमबार भ्रष्टाचारको थप अर्को मुद्दा दायर भएको छ।

Tata
GBIME

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलसहित तत्कालीन सहायक निर्देशक रमेश पोखरेल र अन्य ३ जना विरुद्ध भ्रष्टाचार मुद्दामा दायर गरेको हो। उनीहरु विरुद्ध ५ करोड ७९ लाख रुपैयाँ बिगो दाबीसहित सोमबार मुद्दा दायर गरिएको हो। पौडेल निर्देशक रहेको समयमा केन्द्रमा खरिद गरिएको उपकरणमा हिनामिना गरेको देखिएको आयोगको ठहर छ।

अख्तियारको अनुसन्धानमा सार्वजनिक खरिद योजना तयार नगरी खरिद कार्य भएको लागत अनुमानसँग स्वीकृत भएको टेक्निकल स्पेसिफिकेसन मिल्नेगरि विस्तृत रुपमा नै दर भाउपत्र पेस गरी मिलेमतो गरेको देखिएको छ।

अभियोगपत्रमा आयोगले पौडेलसँगै केन्द्रका तत्कालिन सहायक निर्देशक पोखरेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत नीमबहादुर वली, पुतलीसडक कार्यालय रहेको म्याक्स इन्टरनेशनल प्रालि र त्यसका सीइओ अकबर हुसेनलाई विपक्षी बनाएको छ।

पौडेलविरुद्ध यसअघि नै विशेष अदातलमा मुद्दा विचाराधीन छ। गत माघमा उनी विरुद्ध भ्रष्टाचार मुद्दामा नै ३ करोड ८ लाख रुपैयाँ बिगो मागदाबी सहित विशेषमा मुद्दा दायर भएको थियो।