
भारतमा एकजना नेपाली महिला पक्राउ परेकी छन्। लखनउको महाराजगंज प्रहरीले नेपाल-भारत सीमाबाट भावना गुरुङलाई पक्राउ गरेको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ।
गुरुङको साथबाट नक्कली भारतीय पासपोर्ट र आधारकार्ड पनि भेटिएको जनाइएको छ। गुरुङलाई पछि सुनौली प्रहरीमा बुझाइएको छ।
भारतीय अध्यागमन कार्यालयका अधिकृतहरुका अनुसार काठमाडौंबाट दिल्ली जाने मैत्री बसको नियमित चेकजाँचका क्रममा गुरुङ पक्राउ परेकी हुन्। उनले भारतीय अधिकारीहरुलाई भारतीय पासपोर्ट र आधारकार्ड देखाएकी थिइन्। त्यसमा भने उनको नाम सलिना प्रधान रहेको थियो। उनको ठेगाना पश्चिम बंगालको अलिवुरद्वार विवरणमा उल्लेख थियो।
तर, अधिकारीहरुले भने उनको साथबाट पाएको कागजपत्र र उनको लवज र पहिरनको आधारमा उनीसँग थप सोधपुछ गरेका थिए। त्यसक्रममा उनको सामानको पनि खोजतलासी गरिएको थियो।
खोजतलासीका क्रममा उनको साथबाट नेपाली पासपोर्ट र नागरिकता भेटिएको जनाइएको छ। नेपाली कागजपत्रमा उनको नाम भावना गुरुङ र ठेगाना बुटवल उल्लेख छ।
सोधपुछका क्रममा उनले आफू नेपाली नागरिक भएको स्वीकार गरेको भारतीय संचारमाध्यमले जनाएको छ। उनी हङकङमा घरेलु कामदारका रुपमा कार्यरत रहेको खुलेको छ।
भारतीय प्रहरीसँग उनले केही व्यक्तिको सहयोगबाट नक्कली भारतीय कागजपत्र बनाएको बयान दिएकी छन्। नेपालबाट हङकङ जान असहज हुने हुँदा यस्तो गरेको उनले बयानमा बताएकी छन्।
सुनौलीका स्टेशन हाउस अफिसर अजित प्रताप सिंहले गुरुङविरुद्ध अध्यागन विभागका अधिकारीहरुले मुद्दा दर्ता गरेको बताएका छन्। उनले अन्तर्राष्ट्रिय यात्राका लागि नक्कली भारतीय कागजपत्र बनाएको खुलेको सिंहले बताए।