
काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले लोकप्रियता आर्जनको होडबाजीले वितरणमुखी बजेट ल्याउँदा निक्कै ठूलो दायित्व सृजना भएको भन्दै अहिलेकै अवस्थामा सरकारले अब धान्न नसक्ने बताएका छन्।
विनियोजन विधेकयका सिद्धान्त र प्राथमिकतामाथि प्रतिनिधि सभाका सांसदहरुले उठाएका प्रश्नमा शुक्रबार जवाफ दिने क्रममा अर्थमन्त्री पौडेलले सामाजिक सुरक्षा कार्यक्रममा पुनरावकलोकन गर्ने बताए।
‘सामाजिक सुरक्षा कार्यक्रममा राजनीतिक दलहरुका बीचमा एक खालको प्रतिस्पर्धा जस्तै भयो। अरुको कुरा किन गर्ने? हामी अहिले सरकारमा छौं कांग्रेस र एमाले। दुई दलकै बीचमा प्रतिस्पर्धा भयो। यसले निक्कै ठूलो दायित्व सृजना भयो,’ उनले भने, ‘दायित्वबाट पछि हट्न पनि सक्दैनौं। यही रुपमा हामी चलिरहन पनि सक्दैनौं। त्यसैले अब दिगोपनका लागि समन्यायिक बनाउनुपर्ने आवश्यकता छ। लक्षित समुदायमा केन्द्रित गर्न जरुरी छ। सक्ने र नसक्ने छुट्याउनुपर्नेछ।’
मन्त्री पौडेलले लोकप्रियतावादबाट बाहिर निस्किन दिएको सुझावलाई बजेट निर्माणको मुल मन्त्र बनाउने बताए।
‘लोकप्रियतावादबाट जोगिनुस् भन्ने माननीयहरुको जुन सुझाव छ। त्यसलाई मैले बजेट निर्माणको मुल मन्त्र बनाउने छु। लोकप्रिय हुने रहर हुन्छ सबैलाई। तर, लोकप्रियतावादमा फस्नु हुँदैन,’ उनले भने, ‘बजेट अनुशासन कायम गर्न र अलोकप्रिय हुने गरी खर्च कटौतीका कार्यक्रम ल्याउन दिएका सुझावलाई मैले सभाको निर्देशनका रुपमा लिएको छु।’
मन्त्री पौडेलले सांसद विकास कोषको झल्को दिने कार्यक्रम ल्याउने जनाउ पनि दिएका छन्। आफ्नो निर्वाचन क्षेत्रमा योजना नै पर्ने नगरेको र बजेटमा विभेद भएको भन्दै अधिकांश सांसदहरुले विकास निर्माणमा आफूहरुलाई पनि सहभागी गराउनुपर्ने आवाज उठाएकामा मन्त्री पौडेलले बजेटले त्यो गुनासो हल गर्ने बताए।
‘सिद्धान्त र प्राथमिकता कर्मकाण्डी भयो, तदर्थवादी भयो। बजेट सिल भइसक्यो, छलफल गरेर के काम भन्नुभएको छ। छलफल काम लाग्दो भयो कि भएन? उपयोगमुखी भयो कि भएन? भन्ने कुरा जेठ १५ गतेले बोल्छ,’ उनले भने, ‘जहाँसम्म विभेदको कुरा छ, यसपटक मैले के गर्छु जेठ १५ मा थाहा पाइहाल्नुहुन्छ। मैले पहिलोपटक बजेट पेस गर्दा सबैले एकसाथ धन्यवाद भन्नुभएको थियो।’
उनले पुँजीगत खर्च नहुने अवस्था अन्त्यका लागि साहसकिकदम आवश्यक रहेको बताए। ‘पुँजीगत खर्चमा हामी चिन्ताजनक अवस्थामा छौं। उसै त पुँजीगत बजेटको आकार नै कम छ, त्यसमा पनि खर्च धेरै कम भएको अवस्था छ। यो अवस्थाबाट बाहिर निस्किन केही साहसिक कदम चाल्नुपर्छ,’ उनले भने।