
स्पेनिस ला लिगामा आज सम्पन्न एल क्लासिकोमा बार्सिलोनाले रियल मड्रिडलाई हराएको छ। घरेलु मैदानमा सम्पन्न खेलमा बार्सिलोनाले रियललाई ४-३ गोलअन्तरले हराउँदै लिग तालिकामा बलियो पकड जमाएको हो।
खेलको पाँचौँ मिनेटमा पेनाल्टीमा पाएको अवसरलाई सदुपयोग गर्दै किलियन एम्बाप्पेले रियल मड्रिडलाई अग्रता दिलाएका थिए। त्यस्तै १४ औँ मिनेटमा उनैले भिनिसियस जुनियरको पासमा गोल गर्दै खेलमा अग्रता दोब्बर बनाए।
अर्कोतर्फ १९ औँ मिनेटमा एरिक गार्सियाले गोल गर्दै बार्सिलोनाका खाता खोले। त्यस्तै ३२ औँ मिनेटमा लामिन यमलले गोल गर्दै खेल बराबरीमा ल्यार्न सफल भए। दुबै गोलमा एसिस्ट फेरान टोरेसको थियो।
५० हजार बढी दर्शकबीच दुई गोलपछाडि परेर पनि पुनरागमन गरेको बार्सिलोना यतिमा रोकिएन। ३४औं मिनेटमा राफिन्हाले टोरेसकै पासमा गोल गर्दै अग्रता बनाए। त्यस्तै, ४५औं मिनेटमा उनैले पेड्रीको पासमा बार्सिलोनाको अग्रता दोब्बर बनाए।
दोस्रो हाफमा रियलले खेलमा फर्कने प्रयास गरे पनि सफल हुन सकेन। ७०औं मिनेटमा एम्बाप्पेले गोल थप्दै ह्याट्रिक पूरा गरे पनि बार्सिलोनासँग खेलमा फर्कन पर्याप्त हुन सकेन।
योसँगै अंक तालिकामा बार्सिलोना बलियो स्थितिमा पुगेको छ। शीर्ष स्थानको बार्सिलोनाको ८२ अंक छ। दोस्रो स्थानको रियल मड्रिडभन्दा ७ अंकले अघि छ। दुवैले ३५औं खेल खेल्दा मड्रिडको तालिकामा ७५ अंक छ। बार्सिलोनालाई अब च्याम्पियन बन्न बाँकीको एक खेलमा जित या रियल मड्रिडको हार आवश्यक पर्नेछ।