
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र पाकिस्तान युद्धमा उत्रिएपछि राष्ट्रिय सुरक्षा परिषद्को बैठक राखेका छन्।
गृहमन्त्री रमेश लेखकले केन्द्रीय सुरक्षा समितिको बैठकबाट सीमा क्षेत्रमा थप कडाई गर्ने निर्णय गरेलगत्तै ओलीले सुरक्षा परिषद्को बैठक राखेका हुन्। बैठकमा परिषद् सदस्य रहेको परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भने उपस्थित छैनन्।
केन्द्रीय सुरक्षा समितिले मुलुकमा अवाञ्छित गतिविधि हुन नदिन नेपाल–भारत सीमा र विमानस्थललगायत संवेदनशील क्षेत्रमा निगरानी बढाउने र सुरक्षा संयन्त्रलाई उच्च सर्तक अवस्थामा राख्ने निर्णय गरेको छ।
गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले भारत र पाकिस्तानमा सिर्जना भएको तनावपछि सुरक्षा निगरानी बढाउने निर्णय गरेको जानकारी दिए।
उनका अनुसार दुई देशबीचको युद्धले नेपाललाई पार्न सक्ने प्रभाव, सम्भावित चुनौती र दुई देशमा रहेका नेपाली नागरिकको सुरक्षाका विषयमा बैठकमा छलफल भएको छ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसदहरुले सुरक्षा सतर्कता बढाउन सरकारको ध्यानाकर्षण गराएका थिए।