
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले नेपाल धितोपत्र बोर्डले आइपीओ अनुमतिमा बिचौलिया प्रयोग गरी कमिसन डिल गरेको विषयमा सरकारको जवाफ मागेका छन्।
उनले बुधबार प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्ने क्रममा देशमा अब ‘सुखी बिचौलिया, समृद्ध माफिया भएको हो?’ भनी प्रश्न गरेका हुन्।
‘सुखी नेपाली, समृद्ध नेपाल अब हालसालै आएर सुखी बिचौलिया समृद्ध, माफिया भएको हो? भन्ने प्रश्न राख्न चाहन्छु। धितोपत्र बोर्डको हेर्नुस त, ७ प्रतिशत कमिसन नदिइकन आइपीओ जारी नै गर्न दिंदैन। दिएकाहरुको मात्र आइपीओ जारी हुन्छ,’ उनले भने।
श्रेष्ठले दुई ठूदा दल कांग्रेस र एमाले मिलेर बनेको सरकार भने ढल्न नहुने र त्यो अवस्था आए जोगाउनका लागि रास्वपाले साथ दिने बताए।
‘दुईटा ठूला दल सैद्धान्तिक व्यवहारिकरुपमा विपरीत ध्रुवमा भएपनि अहिले एउटै ठाउँमा छन्। हाम्रो पनि कामना छ यो सरकार ढल्नु हुँदैन भन्छु म,’ उनले भने, ‘ढल्न लागे टेवा दिन रास्वपा तयार छ। सरकार ढल्नु हुँदैन। यो पछि देशले के गति पाउने त?’