आँखा स्वास्थ्य सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा, प्रधानमन्त्री ओलीले के भने?

बिजमाण्डू
२०८२ बैशाख १७ गते १२:४३ | Apr 30, 2025
आँखा स्वास्थ्य सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा, प्रधानमन्त्री ओलीले के भने?


काठमाडौं। विश्वका आँखा सेवा प्रदायक संस्थाहरुको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ।

Tata
GBIME
NLIC

इन्टनेसनल एजेन्सी फर प्रिभेन्सन अफ ब्लाइन्डनेस (आइएपीबी)ले नेपालमा पहिलोपटक ‘इन साइट अफ लाइभ २०३०’ नामक सम्मेलन गरेको हो। सम्मेलनमा अन्धोपन निवारण तथा आँखा स्वास्थ्यको क्षेत्रमा कार्यरत आइएपीबीका विश्वभरका सदस्य संस्थाका प्रतिनिधि सहभागी छन्।

नेपाल नेत्रज्योति संघका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रले सम्मेलनमा विशेषगरी सन् २०३० सम्ममा विश्वमा आँखा स्वास्थ्य क्षेत्रका लागि आवश्यक रणनीति तथा योजनाका विषयमा छलफल हुनेछ। सम्मेलनमा करिब १०० राष्ट्रका ५०० जना सहभागी छन्।

नेपालमा नेपाल नेत्रज्योति संघ, नेपाल आँखा अस्पताल, तिलगङ्गा आँखा प्रतिष्ठान र बिपी आई फाउण्डेसन आइएपीबीका सदस्य छन्।

सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा कार्यक्रममा आँखाको उपचारलाई पनि समावेश गर्ने बताए।

उनले विशेषगरी दृष्टि गुमाउने जोखिममा रहेकाहरुलाई ध्यानमा राखेर प्राथमिक स्वास्थ्य सेवा प्रणाली र आवश्यक सेवामा आँखा स्वास्थ्यलाई प्राथमिकता दिइएको बताए।

उनले आँखा स्वास्थ्यलाई सार्वजनिक स्वास्थ्य पूर्वाधारको एक हिस्साका रुपमा लिइ विद्यालय तहमा दृष्टि परीक्षण र नर्स कार्यक्रम सञ्चालन गरिएको बताए। विद्यालयमा नर्स प्रदेश सरकारको कार्यक्रम हो।