
जापानलाई उछिन्दै क्यालिफोर्निया विश्वकै चौथो ठूलो अर्थतन्त्र बनेको छ। जनसंख्याको आधारमा अमेरिकाको सबैभन्दा ठूलो राज्य क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले यो जानकारी दिएका हुन्।
गभर्नर न्युसमले राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ नीतिले क्यालिफोर्नियाको तीव्र गतिमा बढिरहेको समृद्धिलाई खतरा पुर्याउने चेतावनी दिएका छन्।
अमेरिकाको आर्थिक विश्लेषण ब्युरोको प्रारम्भिक तथ्यांकअनुसार सन् २०२४ मा क्यालिफोर्नियाको जीडीपी ४.१ ट्रिलियन डलर पुगेको छ। यो अवधिभित्र अन्तर्राष्ट्रिय मुद्रा कोषले जापानको जीडीपी ४.०२ ट्रिलियन डलर रहेको जनाएको छ।
यससँगै क्यालिफोर्निया जापानलाई पछि पार्दै चौथो स्थानमा उक्लिएको छ। अब अमेरिका, चीन र जर्मनी मात्र क्यालिफोर्नियाभन्दा ठूला अर्थतन्त्र बनेका छन्। रिपोर्ट अनुसार सन् २०२३ मा क्यालिफोर्नियाले ६ प्रतिशत आर्थिक वृद्धि दर हासिल गरेको थियो, जुन यी ३ देशभन्दा पनि उच्च हो।
‘क्यालिफोर्नियाले केवल विश्वको गति पछ्याएको होइन, हामी आफैं गति निर्धारण गर्दैछौं,’ गभर्नर न्युसमले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो अर्थतन्त्र फस्टाएको छ किनभने हामी जनशक्तिमा लगानी गर्छौं, दिगोपनालाई प्राथमिकता दिन्छौं र नवीनताको शक्तिमा विश्वास गर्छौं।’
तर, संघीय सरकारको ‘लापरवाह ट्यारिफ नीति’ले क्यालिफोर्नियाको आर्थिक क्षमतामा खतरा पैदा गरिरहेको चेतावनी उनले दिएका छन्।
करिब ४ करोड जनसंख्या भएको क्यालिफोर्नियाले सन् २०२४ मा अमेरिकाको कुल जीडीपीको १४ प्रतिशत हिस्सा ओगटेको छ। सिलिकन भ्याली, रियल स्टेट र वित्तीय क्षेत्रमा आधारित अर्थतन्त्रले यो उपलब्धि सम्भव बनाएको हो।

गत हप्ता गभर्नर न्युसमले ट्रम्पविरुद्ध आपतकालीन शक्तिको प्रयोग गरेर एकलौटी रुपमा विश्वव्यापी ट्यारिफ लागू गरेको विषयमा अदालतमा मुद्दा दायर गरेका छन्। ट्रम्पको कदमले क्यालिफोर्नियाली परिवार र व्यवसायहरूलाई गम्भीर चोट पुर्याएको उनको आरोप छ।
अप्रिल १६ मा संघीय अदालतमा दायर गरिएको उक्त मुद्दामा ट्रम्पसँग मेक्सिको, चीन, क्यानडा र विश्वका अन्य मुलुकहरूबाट आउने वस्तुमा १० प्रतिशतको आधारभूत ट्यारिफ लगाउने अधिकार नभएको उल्लेख छ।
गभर्नर न्युसमले मुद्दा दायर गर्दै जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यी ट्यारिफहरूले क्यालिफोर्नियालाई तुरुन्त र अपूरणीय क्षति पुर्याइरहेका छन्। क्यालिफोर्निया अमेरिका भित्रको सबैभन्दा ठूलो अर्थतन्त्र भएको र उत्पादन र कृषिमूलक राज्य हो। ट्यारिफहरूले आपूर्ति श्रृङ्खला बिगारेका छन्, लागत बढाएका छन् र राज्यलाई अर्बौं डलरको क्षति पुर्याएका छन्।’
क्यालिफोर्नियाले सन् २०२४ मा करिब ६७५ अर्ब डलर बराबरको दुईतर्फी व्यापार गरेको थियो। मेक्सिको, क्यानडा र चीन क्यालिफोर्नियाका मुख्य व्यापार साझेदार हुन्।
क्यालिफोर्नियाको कुल ४९१ अर्ब डलर बराबरको आयातमध्ये ४० प्रतिशतभन्दा बढी यी ३ मुलुकबाट आएको थियो, जुन २०३ अर्ब डलर बराबर छ।
यसैबीच, बुधबार थप १२ राज्यले ट्रम्प प्रशासनविरुद्ध ‘अवैध रुपमा अमेरिकनहरूमाथि कर वृद्धि गरेको’ आरोपमा मुद्दा दायर गरेका छन्।