
काठमाडौं । सप्तरीको कञ्चनरुपा नगरपालिका-८ का कांग्रेस सभापति बिटु गुप्ताले पार्टीको क्रियाशील सदस्यता नवीकरणका लागि आह्वान गरेको तीन महिना भयो। तर, क्रियाशील सदस्यहरुले सुनेको नसुन्यै गरे।
यसअघि चैत मसान्तसम्म समय दिएको कांग्रेसले अहिले बैशाख १५ सम्म म्याद थपेको छ। गुप्ताले त्यो समय चाहिं नगुजार्न भनिरहेका छन्। तर, क्रियाशील सदस्यहरुले नवीकरण गर्ने छाँट देखाएका छैनन्। ‘यो पार्टीमा बसेर के हुन्छ भन्दै पुराना कार्यकर्ताले आफ्नो सदस्यता नै च्याते,’ गुप्ताले दु:खी हुँदै भने।
नेताहरुले निर्वाचित भएपछि कार्यकर्तालाई हेर्नै छाडेको र दु:ख पर्दा सहयोग नगरेको गुनासो धेरैको छ। आफू सभापति रहेको वडामा ३०० भन्दा बढी क्रियाशील सदस्य रहेकामा १५ गतेभित्र धेरैले नवीकरण गर्नेमा गुप्तालाई विश्वास छैन। उनीहरुले शुल्क तिर्नै मानिरहेका छैनन्।
अहिलेका नेताहरुले कार्यकर्ताको समस्यामा साथै नदिएकाले नवीकरणका लागि पटक पटक म्याद थप गर्दा पनि निराश हुनुपर्ने अवस्था रहेको ७० वर्षिय गुप्ताको भनाइ छ।
‘पहिले पहिले कार्यकर्ताका दु:खमा नेताले साथ दिन्थे। मधेशमा मान्छे पेलिएका छन्। तर कांग्रेसले वास्तै गर्दैन,’ ४८ वर्षदेखि कांग्रेसमा क्रियाशील गुप्ता भन्छन्, ‘पैसा दिन सक्नेलाई टिकट दिन्छन्। टिकट किनेका मान्छेले कार्यकर्तालाई के वास्ता गर्छन् र?’
कांग्रेसले १५औं महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण गर्न आग्रह गरिरहे पनि कञ्चनरुपा-८ मा जस्तै धेरैतिरका कार्यकर्ताले मानिरहेका छैनन्।
तोकिएको समयभित्रै क्रियाशील सदस्यता नवीकरणका लागि मकवानपुरको हेटौंडा उपमहानगरमा वडा सभापतिहरुले वडा सचिवहरुलाई जिम्मेवारी दिएका छन्। तर धेरैजसोले नवीकरण गर्नै नमानेको वडा सचिवहरु बताउँछन्।
‘रिन्युका लागि अनुरोध गरेको हो। कांग्रेसका पुरानै साथीहरुले नवीकरण गर्न मान्दै मानेका छैनन्,’ एक वडा सचिवले भने, ‘उल्टै गाली गर्छन्।

पार्टीमा लागेर केही नहुने र शीर्ष तहमा पुरानै ढर्राका नेताहरु रहेको भन्दै कार्यकर्ताले आक्रोश पोख्ने क्रम बढेको ती वडा सचिवको भनाई छ।
‘नेताहरुले आफ्नो फाइदाका लागि मात्र हामीलाई प्रयोग गरे। क्रियाशील सदस्यले नै पार्टीमा कुनै अवसर नपाउने भएपछि के का लागि नवीकरण गरिरहने?’ आक्रोशित हुँदै काठमाडौं-१ का एक कार्यकर्ताले भने। नवीकरणका लागि ती कार्यकर्तालाई वडा समितिले निरन्तर ताकेता गरिरहेको छ। तर ती कार्यकर्ता भन्छन्, ‘म यसपालि नवीकरण गर्ने पक्षमा छैन।’
सरकारमा कांग्रेसको भूमिकाप्रति असन्तुष्टि जनाउँदै कतिपयले क्रियाशील सदस्यता त्यागेको सार्वजनिक गर्ने क्रम बढेको छ। कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशबाट बर्खास्त गरिएकामा असन्तुष्टि जनाउँदै कतिपयले सदस्यता नै त्यागेका छन्।

पार्टी सदस्यता नवीकरण नगर्ने रोग सिन्धुपाल्चोकका नेताहरुले पनि झेलिरहेका छन्। त्यसैले जिल्ला नेताहरुले नवीकरण फारमको बन्डल नै नियन्त्रणमा लिइरहेका छन्। जसकारण पार्टी सभापति जंगबहादुर तामाङ र इतर पक्षबीच मनमुटाव बढ्दो छ।
‘हामीले नवीकरण गर्न आग्रह गर्दा पनि धेरैले चासो दिएनन्। त्यहीःकारण आफू अनुकूल हुने गरि नवीकरणका लागि फारमको बन्डल नै हामीले राखेका छौं,’ जिल्लास्तरीय एक नेताले भने, ‘आफू अनुकूलका कार्यकर्ताको सूची बनाउन सक्दा जिल्लाको नेतृत्व हत्याउन सजिलो हुन्छ।’
कांग्रेसमा क्रियाशील सदस्यता विवाद मिलाउने जिम्मा महामन्त्री गगन थापालाई दिइएको छ। थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिमा केन्द्रीय सदस्यहरु सीता गुरुङ, प्रकाश स्नेही रसाइली र योगेन्द्र चौधरी छन्।
१४औं महाधिवेशनमा सहभागी भएका क्रियाशील सदस्यहरुको समेत रेकर्ड कम्युटरमा नदेखिएपछि कांग्रेसमा विवाद चर्किँदै गएको छ। केही जिल्लाका नेताले अझै फारम नै लगेका छैनन्। फारम नपुगेका जिल्लामा प्युठान, हुम्ला लगायत छन्।
वडाले सिफारिस गरेको क्रियाशील सदस्यता फारम पालिका, जिल्ला, प्रदेश हुँदै केन्द्रमा पुग्छ। एक क्रियाशील सदस्यबापत २०० रुपैयाँ शुल्क तोकिएकामा त्यसमध्ये १५० रुपैयाँ केन्द्रमा पठाउनुपर्छ। त्यसमा वडा समितिले बढाएर लिइरहेका छन्। जिल्ला समितिले पाँच सय रुपैयाँसम्म लिने गरेको कार्यकर्ताको गुनासो छ।
कतिपय कार्यकर्ताले वडा र जिल्लाले मनपरीरुपमा शुल्क तय गरेको भन्दै क्रियाशील सदस्यता नवीकरण गर्न नमानेको समितिकै सदस्यहरु बताउँछन्।
‘केन्द्रले २०० रुपैयाँ तोकेपनि जिल्लामा पार्टी संचालनका लागि रकम आवश्यक भन्दै थपेर शुल्क लिएको देखिन्छ। शुल्क बढी भएको भन्दै कतिपयले सदस्यता नवीकरण नगरेको पाइएको छ,’ समितिका सदस्य चौधरीले भने।
नवीकरण हरेक वर्ष गर्नुपर्ने विधानमा व्यवस्था छ।
कुनै समय कांग्रेसको गढ मानिने मोरङका अधिकांश क्रियाशील कार्यकर्ता पनि अहिले रुष्ट सुनिन्छन्। विशेषगरी भान्सा महँगिएकामा गृहणीहरु कांग्रेससँग रुष्ट रहेको कांग्रेसका जिल्लास्तरीय नेताहरु बताउँछन्।
क्रियाशील सदस्यता व्यवस्थापन समितिले माघ ३ गते नै देशभरका जिल्ला कार्यसमितिलाई चैत मसान्तसम्म क्रियाशील सदस्यता फारम भरेर पठाउन निर्देशन दिएको थियो। अधिकांश जिल्लाबाट तथ्यांक नआएपछि समितिले वैशाख १५ गतेसम्मका लागि म्याद थपेको छ।
समितिका सदस्य प्रकाश स्नेही रसाइली भने क्रियाशील सदस्यहरुले नवीकरण गर्न नमानेको यथार्थ स्वीकार गर्दैनन्। ‘क्रियाशील सदस्यता पाइएन भनेर जिल्ला जिल्लामा लफडा भइरहेको छ। सदस्यता नवीकरण गर्न नमानेको हावादारी कुरा हो,’ रसाइलीले भने, ‘विवाद भएका ठाउँमा हामी सल्टाउँदैछौं।’
कांग्रेसको १३औं महाधिवेशनमा ४ लाख ७० हजार क्रियाशील सदस्य रहेकामा १४औं महाधिवेशनमा ४ लाख ३ हजार ९१३ जनाले मात्रै नवीकरण गरेका भनिएको थियो।
१४औं महाधिवेशनमा कांग्रेसले आफूसँग ८ लाख ५२ हजार ७१२ जना क्रियाशील सदस्य रहेको बताएको थियो। जसअनुसार महाधिवेशनपछिको आर्थिक वर्ष २०७९/८० मा कांग्रेसको कोषमा क्रियाशील सदस्यता नवीकरणबाट १७ करोड रुपैयाँभन्दा बढी उठ्नुपर्ने हो। तर, त्यो वर्ष कांग्रेसले क्रियाशील सदस्यबाट जम्मा ८०० रुपैयाँ मात्र आम्दानी उसको लेखापरीक्षण प्रतिवेदनबाट देखिन्छ।