
काठमाडौं। पूर्वअर्थमन्त्री एवं प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले स्वार्थ समूहले आफ्ना प्रतिनिधिलाई राष्ट्र बैंकको गभर्नर बनाउन गरिरहेको चलखेल घामजतिकै छर्लंग रहेको बताएका छन्।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा उनले नेपाल धितोपत्र बोर्ड, बीमा प्राधिकरण जस्ता निकायको नेतृत्वमा आफ्ना मान्छे लान सफल स्वार्थ समूहले अहिले गभर्नरका लागि चलखेल गरिरहेको बताए।
‘नेपाल धितोपत्र बोर्ड, बीमा प्राधिकरण जस्ता निकायको नेतृत्वमा नियुक्ति दिलाउन सफल स्वार्थ समूहले आफ्ना प्रतिनिधिलाई राष्ट्र बैंकको गभर्नर बनाउन गरिरहेको चलखेल दिनको घामजतिकै छर्लंग छ, ‘ उनले भने, ‘कांग्रेसकै शक्तिशाली महामन्त्री र सरकार सञ्चालन गर्ने संयन्त्रका सदस्यले बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छ भन्नुभयो। सत्य बोलेकामा उहाँलाई धन्यवाद छ।’
उनले सरकारमाथि दलाल, बिचौलिया र स्वार्थ समूहको संरक्षण गरेको तथा प्रतिक्षीसँग प्रतिशोध साँधेको आरोप लगाए।
‘१० महिनासम्म सरकारले दलाल, बिचौलिया र स्वार्थ समूहको संरक्षण गर्ने तथा प्रतिक्षीसँग प्रतिशोध साँध्नेबाहेक केही गरेको छैन,’ उनले भने।
नेता पुनले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक नगरिएकामा तथा प्रधानमन्त्रीको अध्यक्षतामा सुशासन आयोग गठन गरिएकामा प्रश्न उठाए।
‘मन्त्रीहरुको सम्पत्ति विवरण अहिलेसम्म किन सार्वजनिक गरिएन? सुशासन आयोग गठनको औचित्य के? अख्तियार, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग जस्ता संस्थाप्रति विश्वास नभएको हो?,’ उनले प्रश्न गरे।